नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो जारी भारत भ्रमणका क्रममा फलदायी र उपलब्धीमुलक कुराकानी भएको दाबी गरेका छन्।
आइतवार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँगको भेटपछि न्यूज एजेन्सी नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
दाहालले भने, ‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहीत भएको छु।’
उनले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको पनि बताए।
‘दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रश्तावलाई मैले समर्थन गरेको छु। कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ,’ अध्यक्ष दाहालले भने।
अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टीबीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिएपनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन। अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय