प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार पद तथा गोपनीयताको सपथ लिएकी छिन्।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार अपरान्ह आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका सामू सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखमा निर्वाचित भुसाललाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।
उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्च पदस्थ पदाधिकारी तथा दलका प्रतिनिधिको उपस्थिति थियो।
विगत साढे दुई वर्षदेखि रिक्त रहँदै आएको उपसभामुख पदमा गत शुक्रबार मात्रै प्रतिनिधि सभामा निर्वाचन भएको थियो। जसमा भुसालको विरुद्ध एमालेले सांसद विद्या भट्टराईको उम्मेदवारी दर्ता गरेको भएपनि मतदान प्रक्रियाको सुरुमा भुसालको नाममाथि भएको मत विभाजनमा उपस्थित २४२ सदस्यमध्ये १४८ जना सदस्यले भुसालको पक्षमा मत दिएपछि भट्टराईको प्रस्ताव स्वतः रद्द सरह भएको थियो।
संविधान बमोजिम पदभार ग्रहण गर्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको सपथ लिनु पर्ने व्यवस्था रहेको छ। तर, ०७२ असोज ३ गते जारी भएको संविधान बमोजिम अहिलेसम्म पनि देशका उच्च पदस्थ संवैधानिक तथा कार्यकारी प्रमुख तथा अन्य पदाधिकारीले संघीय कानूनविना नै पद तथा गोपनीयताको सपथ लिँदै आएका छन्।
गत वर्षको वैशाखमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विवादस्पद सपथ ग्रहण पश्चात जारी भएको सपथ सम्बन्धी अध्यादेशका आधारमा प्रधानमन्त्री देउवासहित केही मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएपनि असोज ३ गतेपछिका सबै निकायमा नियुक्त पदाधिकारीहरुले कानूनी प्रावधानविना नै सपथ लिएर काम गरिरहेका छन्।
यसैबीच हालै मात्र सरकारले सपथ सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ, जुन संसदको दुबै सदनबाट पारित गरी कानूनी मान्यता पाउन बाँकी नै छ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय