सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको हो।
पार्टीलाई आसन्न संघ र प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरुबीच तय गर्दै जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आम निर्वाचनमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष काँग्रेसले निकालेको छ ।
प्रवक्ता महतले भने, ‘बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको नेपाली काँग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गर्दछ। यसरी गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा तय गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रम को खाकासहित आम निर्वाचनमा नेपाली काँग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ। साथै तालमेल गरिरहँदा नेपाली काँग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थता, सांगठानिक बस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ।’
संविधान जारी भएलगत्तै सम्पन्न निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र लगायतका वामपन्थी दलहरुले व्यवस्थाको स्थायित्व भन्दा पनि सरकारको स्थिरतालाई महत्व दिँदै वाम गठबन्धन गरी झण्डै दुई तिहाई बहुमत नजिकको नतिजा निकालेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारले पनि सरकारको त परैको कुरा व्यवस्थाको स्थायित्व समेत धरापमा पारेको थियो। यो तथ्यलाई कांग्रेसले पनि बिर्सिएर फेरि त्यही पुरानो शैलीमा सरकारको स्थिरताको विषय उठाएको छ।
गत स्थानीय निर्वाचनमा नेतृत्वले बलजफती चुनावी तालमेल गरेको आरोप लगाउँदै नेतृत्वप्रति आक्रामक देखिएको अल्पमत पक्षले पनि आजको बैठकमा चुनावी परिणामप्रति सन्तोष व्यक्त गरेको छ।
साथै विगतमा तत्कालिन केपी शर्मा ओलीले अघि सारेका कतिपय विवादस्पद कानूनहरुमा वर्तमान सरकारले पनि लालमोहर लगाउन लागेको देखेपछि पार्टीले संवैधानिक परिषद लगायतका ऐनमा संविधानको भावना र मर्म अनुरुपकै व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। यसले सरकारले हालै संसदमा दर्ता गरेको परिषद सम्बन्धी विधेयकको विवादस्पद प्रावधानलाई अघि नबढाउन सरकारलाई अंकुश लगाएको छ।
कांग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आचारसंहिता जारी गरी लागू गर्ने निर्णय पनि गरेको छ। केन्द्रिय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको छ।
‘स्थानीय तहमा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आचारसंहिता जारी गरी लागू गर्ने गर्ने लागू गर्ने। जसरी हामीले स्थानीय तह निर्वाचनमा घरघर जाऔ, नेपाली काँग्रेस जिताऔं संचालन ग¥यौं त्यस्तै खाले अभियान त्यसको पूर्ण खाका पछि कार्यालयले प्रस्तुत गर्नेछ। तर, हामी भाद्र २ गतेदेखि भाद्र २४ गतेसम्मको अभियान संचालन गर्ने पनि पार्टीले निर्णय गरेको छ। नेपाली कांग्रेस नेतृत्वमा रहेको सरकारले स्थानीय तह निर्वाचन व्यवस्थिति र निष्पक्ष रुपमा एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रिय कार्य समिति बैठक प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ नेतृत्वको मन्त्रीपरिषदको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछ,’ महतले भने।
बैठकले अवधि समाप्त भएर गठन हुन बाँकि रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आवद्ध भातृ संघहरुलाई यही श्रावण मसान्त भित्र गठन र पूर्णता दिने निर्णय पनि गरेको छ।
त्यसैगरी पार्टीको आगामी नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रिय कार्य समितिलाई दिने निर्णय गरिएको प्रवक्ता महतले बताए।
कांग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रिय समिति, केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रिय अनुशासन समिति र केन्द्रिय सदस्य श्यामकुमार घिमिरे संयोजक रहेको केन्द्रिय लेखा समिति पनि गठन गरेको छ।
ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रीय कार्य समिति बैठकले गरेको छ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय