हिमाल दैनिक
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहिबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन्। मंगलवार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहिबारसम्ममा टुंगोमा पुग्नुपर्ने जोड दिएका हुन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको कोपभाजनामा परेर राजनीतिक संकटमा परेका भट्टराईसँग भेटवार्ता पश्चात दाहालले सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको जानकारी दिए। आसन्न संघ र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल र गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको उल्लेख गर्दै दाहालले भने, ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन। गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ। गठबन्धन बनाउनेबारे अरु पार्टी सँग पनि कुरा गरौँ। पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो।’ अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय सही भएको प्रतिक्रिया दिए। उनले आफूहरु गठबन्धन गरेर अघि बढ्न सकारात्मक रहेको जानकारी दिँदै भने, ‘कांग्रेसले सहि निर्णय गरेको छ। हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ। यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि। यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको।’ अध्यक्ष दाहालले बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उहाँ गठबन्धनमै रहेको बताए। भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको पनि अध्यक्ष दाहालले बताए।  
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update