हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको खोजी गर्ने जिम्मा अधिकारी थरकै मानिसहरुलाई दिन आग्रह गरेका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एम अधिकारीको नाममा एमाले पार्टीले आफ्नो विभागको सदस्यका रुपमा मनोनित गरेको समाचार सार्वजनिक भएपछि उनको विषयमा सदन र सडकमा उठेका आवाजहरुबारे कुनै कारबाही नभएपछि सांसद महतले व्यंग्यात्मक शैलीमा यस्तो आग्रह गरेका हुन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद महतले गाउँघरमा कुखुराको लल्ला हराउँदा पन िखोजी गरिने भएपनि एमाले जस्तो ठूलो पार्टीको महत्वपूण विभागको सदस्य एम अधिकारी हराउँदा सरकार र प्रतिपक्षी दुबैले खोजी नगरेकोमा अनौठो लागेको बताए। साथै उनले एम अधिकारीको नाममा पार्टी विभागको सदस्यका रुपमा क्रियाशील महाप्रसाद अधिकारी गभर्नरको रुपमा रहन नमिल्ने भन्दै दिनहुँ जसो बालुवाटार, माइतीघरमा गरिरहेको विरोध प्रदर्शनप्रति लक्षित गर्दै महतले सरकारले एम अधिकारीको खोजीको जिम्मा विद्यार्थीहरुलाई दिएको हो कि भनि प्रश्न गरे। साथै आफ्नो पार्टीका सदस्य जनार्दन शर्मा अर्थमन्त्रीको हैसियतमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा बहिर्गमनमा परेका व्यक्तिको विषयमा संसदले छानविन समिति गठन गरेको विषयप्रति महतले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘प्रतिपक्षी आफ्नो महत्वपूर्ण समितिको सदस्य खोज्नुको साटो सीसी क्यामेरा खोज्दै हिँडेको छ। यहाँ कस्तो विडम्बना छ भने सभामुख महोदय, यो सीसी क्यामेरा खोज्ने एउटा समिति बनिसकेको छ। तर, त्यत्रो महत्वपूर्ण समितिको मानिस हराएको छ उसको खोजि गर्ने कुनै समिति बनेकै छैन। अब म कसलाई भन्ने? अब यो कसले खोज्ने?’ साथै उनले थप्दै भने, ‘हाम्रो गाउँघरतिर त कस्तो हुन्छ भने, कुनै थरको मान्छे, मानौँ महत थरको मान्छे हरायो भने अरुको जिम्मा हुँदैन। महत थरकै मानिसहरुले खोज्छन्। भोटमा हराएपनि, मधेसमा हराएपनि कालापहाडमा हराएपनि, विरामी भएपनि त्यसको अपुताली खाने जिम्मा पनि उनीहरुकै हुन्छ। हराएको मानिस खोज्ने जिम्मा पनि उनीहरुकै हुन्छ। यहाँ एम अधिकारी हराएको हुनाले त्यही थरका मान्छेहरुले यो सरकारले नखोजेपनि, प्रतिपक्षीले नखोजेपनि त्यो थरका मान्छेहरुले एम अधिकारी खोज्नु पर्यो। अरु कसलाई भनौँ म? यहाँ सडक तातिरहेको छ, बालुवाटार घेरिराखेका छन्, माइतीघर तातिरहेको छ। यो जिम्मा त्यही थर भएका मान्छेहरुलाई दिनु पर्यो। हराएको मान्छे महत भइदिएको भए म आफैँले खोज्थेँ।’
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update