नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका सहयात्री दलले भनेजस्तो भन्दा पनि स्थानीय तहमा प्राप्त लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन्।
प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्नेमा जोड दिए।
उनले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताउँदै गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोच राख्न नहुने बताए।
उनले कांग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको दाबी गर्दै स्थानीय तहमा प्राप्त लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गरिनु पर्ने बताए।
नेता कोईरालाले सबैलाई समेटेर हिँड्ने काँग्रेसको सोच रहेको बताउँदै भने, ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ। मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने विश्वास छ। त्यसमा नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ। किनकी गठबन्धनमा जाने भनेका छौँ। तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामीहरु छलफल गरिराखेका छौँ। केन्द्रीय समितिमा पनि छलफल भएको छ। केन्द्रीय समितिमा हामीले दुई, तीनवटा कुराहरु राखेका छौँ। गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ। उहाँहरुलाई के लागिराखेको छ भने हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ। त्यस्तो होइन। नेपाली कांग्रेस ठूलो पार्टी हो। पुरानो पार्टी हो। र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो। त्यसकारण हामी सबैलाई समेटेर हिडौँ भन्ने हामीहरुको सोच। तर नेपाली कांग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हामीहरुको सोच।’
उनले नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने दाबी गरे।
संसदको प्रतिनिधि सभाबाट हालै पारित भएको नागरिकता विधेयकले मधेसमा बसोबास गरिरहेका धेरै जनताहरुमा खुशी तुल्याएको बताए।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय