हिमाल दैनिक
दाहाल भन्छन्ः आगामी चुनावमा कांग्रेस पहिलो माओवादी दोस्रो बन्छ, तैपनि अन्तिमपटक प्रधानमन्त्री हुन्छु
Pushpa Kamal Dahal
नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा निर्वाचनमा पहिलो शक्ति नेपाली कांग्रेस र दोस्रो शक्ति आफ्नोे पार्टी हुने ठोकुवा गरेका छन्। शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको दोस्रो र कम्युनिष्टमा पहिलो शक्ति बनेर पुनः एक पटक देशको प्रधानमन्त्री हुने इच्छा समेत व्यक्त गरे। साथै उलने आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास पनि व्यक्त गरे। अध्यक्ष दाहालले भने, ‘आउने प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दापनि हामी पहिलो हुने हो। कम्तिमा पनि लेफ्ट मुभमेण्टको पहिलो हुने पूरै सम्भावना छ। मैले नेपाली काँग्रेसका नेताहरुलाई भनेको छु, अहिले पहिलो पार्टी त तपाईहरु नै हुने देखियो तर, माओवादी दोस्रो हुनुपर्छ।’ कम्युनिष्ट पार्टीहरुमा पहिलो पार्टी बनाउने सर्तमा कांग्रेससँगको चुनावी तालमेल अघि बढ्ने विश्वास बोकेका दाहालले थप्दै भने, ‘त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु। यसमा हाम्रो नेतृत्व तहमा राम्रो समझदारी छ।’ यसअघि सत्तारुढ पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति गरेपनि कतिपय ठाउँमा त्यसविरुद्धका मोर्चाबन्दीले असर पारेको तर्फ सजग हुँदै दाहालले आगामी निर्वाचनमा त्यो कमजोरी नदोहोरीने दाबी गरे। ‘यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन। त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ। त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ। हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ,’ उनले भने। विगत लामो समयदेखि एकलौटी रुपमा माओवादीको नेतृत्व गर्दैआएका अध्यक्ष दाहालले आगामी निर्वाचनलाई आफ्नो राजीनिक जीवनको अन्तिम सत्रको भएको बताउँदै भने, ‘मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस्। यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु।’ साथै उनले गत स्थानीय निर्वाचनको परिणामले देशमा माओवादी भनेको माओवादी केन्द्र मात्रै भएको र अरु माओवादीको अर्थ छैन भन्ने कुरा प्रमाणित भएको दाबी गरे। माओवादीबाट फुटेर विभिन्न नामका माओवादी समूह बनाएका नेता मोहन बैद्य किरण, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईप्रति लक्षित गर्दै उनले भने, ‘किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन। बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाव नै भएन।’ अध्यक्ष दाहालले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको दाबी गर्दै किसान लक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको दाबी गरे। अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको बताए। ‘हामीले अर्थतन्त्रमा पनि किसानतिर फर्केको उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको नयाँ बजेट प्रक्रियातिर देशलाई लगेका छौँ। यसबाट प्रतिक्रियावादीहरु, बुर्जुवाहरु र दलालहरु निकै अत्तालिएका छन्। हामीमाथि भए/नभएको आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र गरिएको छ। राष्ट्रिय स्वाधिनताको विषय हामीले पछिल्लो पटक १२ बुँदे घोषणासहित एमसीसीको कुरा होस् वा एसपीपीलाई हिजो मात्रै परराष्ट्र मन्त्रालयले चिठी लेखेर हामी त्यसमा सहभागी हुँदैनौँ भन्ने ठाउँमा पु¥याउनेमा माओवादी पार्टीको नै मुख्य भुमिका छ,’ उनले भने। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको प्रक्रियामा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको विषयतर्फ लक्षित गर्दै दाहालले हामीलाई आरोपित गर्ने जो कोशिस भयो त्यसमा संसदीय छानबिन समिति गरेर, पुष्टि गरेर देखाउन समिति बनेको बताए। संसदीय समितिले शुक्रबारको संसद बैठकमा पेश गरेको प्रतिवेदनबारे टिप्पणी गर्दै उनले भने, ‘छानबिन समितिले कुनै त्यस्तो त्रुटी भएको छैन भन्ने प्रतिवेदन बुझाइसकेको छ। देशमा स्थायित्व, सुशासन, राष्ट्रिय सुदृढीकरणतिर लैजाने हो भने यो परिवर्तनको वाहक माओवादी नै हो। माओवादी बिना देशमा सुशासन सम्भव छैन। आउने तीन महिना हामी सबैका लागि चुनौतीको समय हुनेछ। तीन महिना अभियानको रुपमा जाने हो भने देशको राजनीतिक रंगमञ्चमा, देशको राजनीतिक मानचित्रमा बदल्नसक्ने तागत माओवादीसँग छ। हामी परिवर्तन ल्याउने अरुले देलान् र खाउँलाजस्तो भएका छौँ अब त्यस्तो होइन, हामी आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न जरुरी छ।’ अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीहरुले राजनीतिमा बुढापाकाहरु चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए। अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गर्दै उनले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको पनि बताए।  
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update