हिमाल दैनिक
सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको छ। गठबन्धन सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको भोलीपल्ट शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले सो निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको हो। चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकपछि संचारकर्मीहरुसँग संक्षिप्त कुरागर्दै उनले भने, ‘पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अघि बढने निर्णय ग¥यो। चुनावी तालमेलको निम्ति फेरी बैठक बस्छ, छलफल गर्छ। यसलाई व्यवस्थित गर्ने, न्यायपूर्ण गर्ने विषयमा वृहत रुपमा सहमती भएको छ। यसलाई गम्भिर छलफल गरेर अघि बढाउँछौं। यसका लागि कार्यदल पनि बन्नेछ। त्यसबारे म पछि तपाईहरुलाई थाहा दिनेछु। र, अर्को पूर्वप्रधानमन्त्रीजी पुष्पकमल दाहाल आज रातको १० बजे जापान प्रस्थान गर्दै हुनुहुन्छ। उहाँलाई आज बसेको गठबन्धन बैठकले उहाँको भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको कुरा पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु।’ बैठकले गठबन्धन दलका एक प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको जापान भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ। अध्यक्ष दाहाल आज राति १० बजे जापान प्रस्थान गर्दैछन्।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update