हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनको मिति घोषणा भएसँगै वर्तमान सरकार कामचलाउमा रुपान्तरित भएको दाबी गर्दै कामचलाउ सरकारले संसदमा नयाँ बिजनेश ल्याउन नमिल्ने जिकिर गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकको बिशेष समयमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार कामचलाउ भएको र नियमित सरकारले जस्तो सदनमा बिजनेस ल्याउन नमिल्ने दाबी गरे। विगतका संसदीय अभ्यास र प्रचलन अनुसार, सरकारले संसदको आवधिक निर्वाचनको मिति घोषणा गरेसँगै संसदको विघटनको घोषणा गर्दै सरकार कामचलाउ अवस्थामा जाने गर्दै आएकोमा वर्तमान संविधानले संसदको रिक्तताको कल्पना नगरेको भन्दै संसद कायमै राखिएको छ। बिहिबारको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंसिर ४ गतेका लागि मिति घोषणा गरेपछि विपक्षी दलले सरकार कामचलाउको स्थितिमा पुगेको जिकिर गर्न थालेको हो। सोही मान्यताका आधारमा एमाले नेता ज्ञावालीले कामचलाउ सरकारले कुनै पनि नयाँ बिधेयक दर्ता समेत गर्न नमिल्ने जिकिर गरे। उनले गठबन्धन सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेर मुलुकको अवस्था अस्तव्यस्त पारेको आरोप लगाउँदै पाँच महिना संसदमा अड्काएर राखेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धका महाभियोग सदनको बिजनेस सकिने अघि बढाउनु उचित नभएको धारणा राखे। त्यसैगरी उनले ताइवान मामिलामा धारणा सार्वजनिक गर्न र सरकारले अबलम्बन गरेको एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिन पनि आग्रह गरे। उनले छिमेकीका संवेदनशीलतामाथि नेपालले खेलबाड गर्न नहुने सुझाव दिए।
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update