हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने आश्वासन दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले पार्टी गठबन्धनका साथ चूनाव लड्न लागेपनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरी न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताएका हुन्। सत्ता साझेदार दलहरुबीच आगामी निर्वाचनमा पनि चुनावी तालमेल र गठबन्धन गरी जाने तयारीका साथ कार्यदलभित्र गृहकार्य भइरहेकै बेला कांग्रेसभित्रैको अल्पमत पक्षका नेता, कार्यकर्ताले नेतृत्वबाट हुनसक्ने भेदभावको आशंकामा विरोधका स्वर बढ्दै गएको बेला सभापति देउवाले यस्तो आश्वासन दिएका हुन्। देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सवै क्रियाशिल हुनुपर्ने धारणा समेत राखे। गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चूनाव जितिन्छ भनेर ढूक्क हुने अवस्था नरहेको जिकिर समेत गरे। देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुराउने भनिएपनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले जनताले आशंका गर्ने ठाँउ नदिएर काम गर्नुपर्ने बताए। उनले कार्यसम्पादन गर्दा पारदर्शीताका कुरालाई मुख्य रुपमा अघि राख्नुपर्नेमा जोड दिएका थिए। कांग्रेसले आफ्नो पार्टीका तर्फबार्ट निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न हुने कांग्रेसले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update