हिमाल दैनिक
भट्टराई र गौतमको पार्टीका उम्मेदवारलाई माओवादीले आफ्नै चुनाव चिन्ह दिँदै
Maoist meeting
नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई र नेकपा एमालेबाट बिच्किएर नयाँ दल गठन गरेका नेता वामदेव गौतमको पार्टीका उम्मेदवारलाई माओवादीकै चुनाव चिन्हबाट आगामी चुनावमा भाग लिन दिने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय एकता अभियानका गौतम र भट्टराईले माओवादीको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गरेको भन्दै उनीहरुका दलका उम्मेदवारलाई पनि माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न दिने निर्णय गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै माओवादी प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकले नेपाल समाजवादी पार्टीका भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका गौतमको आग्रह बमोजिम माओवादीको चुनाव चिन्नबाट लड्न स्वीकृत गरेको जानकारी दिए। महराले माओवादीको चूनाव चिन्हबाट लड्न भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे छलफल गर्न बाँकी रहेको समेत जानकारी दिए। दुबै नेताले राखेका सर्तहरुको विषयमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी पनि महराले दिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट बनेका नेता गौतमले उक्त पार्टीकै तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएपनि पछिल्लो समय नेकपा एकता अभियानको नाममा नयाँ दल गठन गरेर एमालेबाट अलग्गिएका थिए। उता ०७० को संविधान सभा निर्वाचनमा माओवादीबाट निर्वाचित सदस्यका रुपमा संविधान निर्माण प्रक्रियामा सक्रिय रहेका नेता भट्टराईले संविधान निर्माणको प्रक्रियामा विमति जनाउँदै पार्टीबाट अलग्गिएर नयाँ शक्ति नेपाल गठन गर्दै उक्त पार्टीलाई ०७४ को निर्वाचनपछि मधेसवादी दल जनता समाजवादी पार्टीसँग एकता गरेका थिए। उक्त पार्टीसँगको लगनगाँठो पनि केही दिनअघि तोडेर नयाँ दल गठन गरेका भट्टराई माओवादी पार्टीमा प्रवेश नगरेपनि उक्त पार्टीको चुनाव चिन्ह लिएर मैदानमा उत्रन तयार हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष आग्रह गर्न पुगेका थिए। माओवादी स्थायी समितिको बैठक बुधबार पुन बस्ने र बिस्तृतमा छलफल हुने प्रवक्ता महराले बताए।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update