हिमाल दैनिक
केन्द्रीय सदस्यमा नपरेपछि पार्टी लाइन विपरित उत्रिइन् सांसद चौधरी
Parbati dc
सत्तारुढ नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमा पार्टी ब्हिप विपरितको अभिव्यक्ति दिएकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पठाएको विधेयकलाई पुनर्विचार गर्न सन्देशसहित पठाएको विधेयकमाथि बिहिबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भन्दा एक कदम अघि बढेर आफ्ना अभिव्यक्ति दिइन्। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले तत्काल उक्त विधेयक संसदबाट पारित गरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने तयारी गर्दै छलफल अघि बढाएकै बेला सांसद चौधरीले राष्ट्रपतिको बचाउमा सत्तापक्षको आलोचना गरिन्। उनले राष्ट्रपतिविरुद्ध सत्तापक्षबाट भएको आलोचनाको विरोध गर्दै आफ्नै राष्ट्रपतिको सम्मान गर्न सक्दैनौँ भने अरु कसको सम्मान गर्न सक्छौँ भनि अभिव्यक्ति दिएपछि एमाले सांसदहरुले टेबुल ठटाएर समर्थन जनाए। नागरिकता विधेयक जे जसरी आयो र गयो त्यसमा पार्टी र दलको हिसाबले आफूले समर्थन गरेपनि व्यक्ति रुपमा त्यो ठिक नभएको धारणा राखिन्। सात वर्षसम्म नागरिकता आउन ढिलाई कसको कारणले गर्दा ढिला भयो भन्दै दलकै नेतृत्वप्रति औंला उठाउँदै सांसद चौधरीले चुनावको सामुन्यमा यस्तो विधेयक किन ल्याइयो भनि प्रश्न समेत उठाइन्। वैवाहिक अंगिकृत नागरिकताको प्रावधानको विरोध गर्दै उनले भनिन्, ‘जो आएपनि दिने हो भने विज्ञापन खोलिदिउँ त। आउन, सबैले पाउँन।’ उनले यसरी बोल्दा एमालेको लहरमा तालिको गडगडाहक चलिरह्यो। उनले राष्ट्र भन्दा ठूलो आफ्नो पार्टी पनि नभएको र आफू पनि नभएको भन्दै यो कुरा धेरै सदस्यलाई लागेपनि पार्टीको बन्धनका कारण बोल्न नसकेको बताइन्। विगतका बैठकमा सत्ताको बचाउ र विपक्षीसँगै राष्ट्रपति विरुद्धसमेत चर्को अभिव्यक्ति दिन पछि नपर्ने सांसद चौधरीले एकाएक बिहिबार किन यसरी बोलिन् भन्ने कारणको पछाडि उनको निहित स्वार्थ रहेको छ। विगतमा पटक पटक गुटगत नेताको फेरो समातेर संविधान सभादेखि प्रतिनिधि सभासम्म समानुपाति सांसद बन्दै आएकी सांसद चौधरीले पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गरेका १० केन्द्रीय सदस्यको सूचिमा नपरेपछिको आक्रोस पोखेको कांग्रेसका नेताहरु बताउँछन्। गत महाधिवेशनमा पार्टी नेताहरुले थारु समूदायको तर्फबाट महिला कोटामा मनोनयन गर्न सुझाव दिएपनि बुझ्दै नबुझी थारुकै पुरुष (खुल्ला) तर्फ मनोनयन दर्ता गरेपछि पराजित भएकी चौधरी सभापतिले मनोनित गर्ने आशामा थिइन्। तर, बुधबार सभापति देउवाले १० जना महिला सदस्य मनोनित गर्दा आफ्नो नाम नपरेपछि सामाजिक संजाल र मिडियामार्फत आफू अब कांग्रेस पार्टी छाड्न तयारीमा रहेको अभिव्यक्ति दिएर नेतृत्वलाई घुक्र्याएकी थिइन्।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update