हिमाल दैनिक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।” उहाँले नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । रासस
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update