हिमाल दैनिक
देउवाले ओलीलाई भनेः स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ, तयारीमा लाग्नुहोस्
deuba and oli in baluwatar
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार आसन्न निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको आश्वासन दिँदै प्रमुख विपक्षी दल नेकपा एमालेलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्। विगत लामो समयदेखि प्रत्यक्ष भेटवार्ता र सम्वादमा खासै चासो नदिएको जस्तो देखिएको अवस्थामा एकाएक बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवालाई भेट्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल यस्तो आग्रह गरेका हुन्। एमाले नेताद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेललाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका ओलीसँग देउवाले मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचन स्वतन्त्र, निश्पक्ष र भयरिहत वातारणमा सम्पन्न हुने कुरामा निश्चिन्त भएर त्यसको तयारीमा जुट्न आग्रह गरेको बैठकमा सहभागी कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। ‘प्रधानमन्त्रीजीलाई भेट्न आउनु भएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीजीसहितका नेताहरुले आफ्ना केही चासो र चिन्ताका विषयहरु राख्नु भयो,’ मन्त्री कार्कीले भने। ‘जवाफमा प्रधानमन्त्रीजीले निर्वाचन स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा हुने कुरामा निश्चिन्त रहनुहोस् भन्नु भयो,’ मन्त्री कार्कीले थप्दै भने, ‘यसका अतिरिक्त प्रधानमन्त्रीजीले विगत लामो समयदेखि टुंगोमा पुग्न बाँकी विस्तृत शान्ति प्रक्रियाको कार्य सम्पन्न गर्न वेपत्ता छानविन तथा मेलमिलाप आयोग सम्बन्धी कानून संशोधनको विषयमा पनि सरकारको स्पष्ट धारणा राख्नु भयो।’ शान्ति प्रक्रियालाई जतिसक्दो चाँडो तार्किक निश्कर्षमा पुर्याउनु पर्ने धारणा राख्दै सरकारले यसका लागि संसदमा हालै यस सम्बन्धी विधेयकहरु अघि बढाएकोले यसमा विपक्षी दल एमालेको पनि साथ र समर्थनमा देउवाले जोड दिएका थिए। यसका अतिरिक्त प्रधानमन्त्री देउवाले विगत लामो समयदेखि नागरिकता पाउनबाट बञ्चित नेपाली नागरिकका छोराछोरीलाई सहज रुपमा नागरिकता दिनु राज्यको दायित्व रहेकोले सरकारले संसदबाट नागरिकता ऐन संशोधन विधेयक पुनः पारित गर्न लागेको भन्दै यसमा अनावश्यक विवाद गर्न आवश्यक नभएको धारणा राखेका थिए। डेढ वर्षअघि सरकारको नेतृत्वमा छँदा तत्कालिन सरकारका प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालको विषयबाहेक हुँबहु अहिले भएकै विधेयकका प्रावधानलाई राखेर अध्यादेश जारी गराएका थिए। यसका साथै नजिकिँदै गरेको चाडवाडको समयमा हुन सक्ने महंगी, कालोबजारीको मारबाट जनतालाई राहत दिने विषयमा सरकारको ध्यानाकर्षण गराउन पुगेका एमाले नेताहरुसमक्ष देउवाले यसबारे सरकारले तदारुकताका साथ काम गर्ने आश्वासन दिएका थिए। एमाले नेताहरुसँगको छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री देउवाले आफूले यी विषयबारे आफूले सत्ता गठबन्धनमा सहभागी पाँच दलका शीर्ष नेताहरुको बैठकमा पनि छलफल गर्ने जानकारी दिएका थिए।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update