हिमाल दैनिक
राष्ट्रपतिका गतिविधिप्रति अध्यक्ष नेपाल सशंकितः कतै अनिष्ट त हुन लागेको होइन!
Madhav k nepal
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला गतिविधिले देशको संवैधानिक र राजनीतिक भविश्यमा आशंका जन्माएको बताएका छन्। बिहिबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता साझेदार दलमध्ये एक दलका नेता नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताए। अध्यक्ष नेपालले राष्ट्रपति भण्डारीले नेपाली सेनाका बहालवाला र पूर्व अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको उल्लेख गर्दै कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताएका हुन्। राष्ट्रपतिको गतिविधिप्रति लक्षित गर्दै नेपालले भने, ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन्। राष्ट्रपतिले जुन ढंगले पूर्वसनिक अधिकारीरुलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरु गरिरहनु भएको छ , यसले शंका जन्माएको छ। के गर्न खोजेका छिन् राष्ट्रपतिले? भन्ने प्रश्न खडा भएको छ। भोलि कतै अनिष्ट त हुने होइन? भन्ने प्रश्नहरु पनि खडा भएको छ।’ बिहिबार बिहान मात्रै सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच चुनावी तालमेल र सिट बाँडफाँटबारे भएको बैठकमा यसबारमा कुरा उठेको जानकारी दिँदै भने, ‘आजै बिहान बालुवाटारमा त्यसबारेमा हाम्रो बीचमा छलफल पनि भएको छ। हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरुको बारेमा निगरानी गरिरहेका छौँ। प्रतिगामी शक्तिहरु, दरबारवादी शक्तिहरु, राजतन्त्रवादी शक्तिहरु, विदेशीहरुको दलाली गर्ने शक्तिहरु नेपालको राजनीतिमा कत्तिको क्रियाशिल छन्, यी सबै कुरामा पनि हाम्रो नजर छ।’ सरकारले संसदमार्फत प्रमाणीकरणका लागि पठाएको नागरिकता ऐन संशोधन विधेयक साउन २९ गते राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता पठाएपछि सरकार, संसद र राष्ट्रपतिबीच अविश्वासको खाडल गहिरिँदै गएको छ। त्यसपछिका दिनमा सत्ता साझेदार दलले उक्त विधेयक जस्ताको तस्तै पुनः पारित गरेर प्रमाणीकरण गर्न पठाउने तयारी गरेपछि राष्ट्रपति भण्डारीले विधेयकको विपक्षमा रहेका कानून व्यवसायीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको परामर्शलाई तिब्रता दिँदै आएकीछिन्। यसरी परामर्शका क्रममा कतिपयले नागरिकता विधेयकको विषयलाई आगामी चुनावमा मुद्दा बनाउन मिल्ने गरी पुनः फिर्ता गरेर पदबाट राजीनामा दिन सुझाइरहेका छन् भने कतिपय समाचार माध्यमले उनलाई राजीनामाका लागि उक्साउँने गरी समाचार प्रकासित गरिरहेका छन्। जसको आधारमा वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवादेखि गठबन्धनका नेताहरुले पनि भण्डारीको भावी कदमबारे आशंका गर्न थालेका छन्। अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताए। उनले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट आफ्नो पार्टीको पक्षमा आउन सक्ने दाबी समेत गरे। ‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन्। हामीले मूल्यांकन के गरेका छौँ भने २७ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख २७ हजार भोट पाएका छौँ। यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए १५ देखि २० लाख भोट हामीले पाउन सक्दथ्यौँ,’ नेपालले भने। १५ देखि २० लाख भोट पाउने आशा राखेका नेता नेपालले थप्दै भने, ‘आउने चुनावमा पनि मत पाउन सकेको खण्डमा १५ देखि २० वटा सिटलाई कसैले रोक्न सक्दैन। त्यसो हुनाले आउने चुनावको सन्दर्भमा समानुपातिक मतको आधारमा पनि हाम्रो पार्टीले आफ्नो हैसियत देखाउन सक्दछ। त्यस हुनाले पार्टीको प्रचार गर्ने अभियानमा, पार्टीको निर्वाचन चिन्हको प्रचार गर्ने काममा अनि मतदातालाई प्रशिक्षित गर्ने काममा जुट्नुपर्ने आवश्यकता छ। यो कुरालाई सबैले ध्यानमा राख्नुहोला।’ अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिए। त्यस्तै पार्टी संगठन र सदस्यहरुको अभिलेखिकरण गर्नुपर्नेमा जोड दिँदै चुनावी अभियानमा जुट्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए। तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र गतिविधिबाट रुष्ट बनेका नेता नेपालसहितका नेताहरुले गत वर्ष यही समयमा नयाँ दलको गठन गरेका थिए।  
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update