हिमाल दैनिक
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। आमा मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिए। यसअघिका निर्वाचन पनि नेपाली कांग्रेसले इमान्दारिताका साथ स्वच्छ, निश्पक्षपूर्ण वातावरणमा सम्पन्न गरेको उल्लेख गर्दै उनले अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँदलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए। उनले भने, ‘चुनावी माहोलमा देश होमिसकेको छ। कांग्रेसले नै अहिलेको सरकारको नेतृत्व गरिरहेकोले निर्वाचन अहिलेसम्म पनि निर्वाचन गराउने काममा इमान्दारिता निभाएको छ। अहिले पनि निर्वाचन निष्पक्ष हुनुप¥यो। धाँधलीरहित गराउनको लागि ज्ञारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ। दलहरुले पनि त्यही भावना अनुसार अघि बढ्नुपर्छ।’ धाँधलीरहित निर्वाचन गराउने ज्ञारेन्टीका लागि सरकारले वा कसले के गर्नु पर्ने हो भन्नेबारे भने उनले केही उल्लेख गरेनन्। निर्वाचनपछिको नयाँ सरकारले संविधानले तय गरेका अधिकार सुरक्षित र संस्थागत गर्दै जनताको जनजीवन सहज बनाउनेतर्फ लाग्ने कुराको चर्चा गर्दै नेता सिंहले भने, ‘नयाँ सरकार आएपछि हामीले गर्ने भनेको संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा नेपाली कांग्रेसले विशेष ध्यान दिनुपर्छ। आगामी दिनमा नेपाली कांग्रेसले आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा पनि पार्टी अघि बढ्छ।’ नेता सिंहले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएपनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन रहँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाए। उनले भने, ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा जनादेश भने कम्युनिष्टहरुले पाए। जसको कारण कम्युनिष्टहरुले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न सकेनन्। संघीय कानून, समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेको छौँ।’ नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभइ मतदानको अधिकार दिलाउन पनि मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको भन्दै आमा सिंहको स्मरण गरे। लौहपुरुष गणेशमान सिंहकी पत्नी मंगलादेवी नेपालको राजनीतिक आन्दोलनमा एउटा स्थापित नाम हो। जसले ०७ सालदेखि ०४६ सालसम्मका प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान पुर्याएकी थिइन्। उनै सिंहका छोरा प्रकाशमान अहिले पनि कांग्रेसको राजनीतिमा सक्रिय छन्।  
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update