हिमाल दैनिक
निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संसदको महाअभियोग सिफारिस समितिसमक्ष बयानका लागि सिंहदरबार पुगेका छन्। बुधवार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्वित प्रधानन्यायाधीश जबरा बयानका लागि पुगेका हुन्। भाद्र ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्वित प्रधानन्यायाधीश राणालाई सोधपुछ र बयानका लागि बोलाएको थियो। प्रधानन्यायाधीश जबरा सिंहदवार पुगेपनि समितिको बैठक भने अझै शुरु भएको छैन। समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुनेगरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाइसकेको छ। प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको लगायतका २१ बुँदे आरोप लगाउँदै सत्तारुढ दलका ९५ सांसदले संसदमा महाभियोग पत्र दर्ता गरेपछि उनी विगत ७ महिनादेखि निलम्बनमा छन्। प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रश्ताव संसदमा दर्ता गराएका थिए। संसदमा महाअभियोग दर्ता भएको ६ महिनापछि संसदले महाअभियोग छलफलको लागि समितिमा पठाएको थियो। नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो। गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।  
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update