नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन र विरोधीलाई डस्न दाँत तिखो पारिराख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई गड्यौँला जस्तो नभई दुई दाँतले डस्न तयार रहन निर्देशन दिएका हुन्।
सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए।
उनले भने, ‘एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन। दुइटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ। बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ।’
साढे ४ वर्षअघि सम्पन्न निर्वाचनमा अत्याधिक बहुमतको सरकारको नेतृत्व गर्ने अवसर पाएर पनि सरकारले जनभावना अनुसार काम गर्न नसकेपछि सरकारको विरुद्धमा भएका आलोचनाबाट क्षुब्द बनेका ओलीले त्यतिबेला पनि आफ्ना नेता, कार्यकर्ता तथा पार्टी निकट पत्रकारलाई अरिंगाल जस्तो बनेर जाइलाग्न उक्साएका थिए।
ओलीले आज कार्यकर्तालाई कसेको आस र त्रासमा नपर्न सझाउँदै भने, ‘कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न। मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ। बनाउनै पर्छ किनकी यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ। त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ।’
नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए।
उनले अघिल्लो सरकारले ल्याएका आयोजनाहरु कटौती गरेर बेहाल बनाएको दाबी समेत गर्दै अहिलेको सरकारले जात जातलाई भिडाएर आफ्नो दुनो सोज्याउने प्रयास गरिरहेको आरोप पनि लगाए।
अघिल्लो चुनावमा सुनसरी ३ मा दुई पटकसम्म नेकपा एमालेले जितेको दाबी गर्दै उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी समेत गरे।
अध्यक्ष ओलीले भने, ‘यस भन्दा अगाडी दुइपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो। तर हार घोषणा गराइएको छ। प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन। त्यसकारण तपाईहरुले राष्ट्रसेवको हैसियतमा निष्पक्ष भुमिका खेल्नुपर्दछ। मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने,अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछुु।’
अध्यक्ष ओलीले मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्नुनहुने बताए।
उनले सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताए।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय