सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए राति २ बजे दुर्घटना भएको हो ।
आठै जनाको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी नायब उपरीक्षक दामोदार केसीले जानकारी दिनुभयो । मृत्यु हुनेमा जिप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहोरा, सोही ठाउँका ४० वर्षीय टोपबहादुर वली, उहाँका छोरा ११ वर्षीय वसन्त वली, ३७ वर्षीय धर्म वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट–५ का ५३ वर्षीय ललित वली रहेका छन् ।
बाँकेको ढकेरीबाट बिहेभोज खाएर फर्कंदै गरेका जन्ती बोकेको गाडी दुर्घटनामा परेको हो । जिपमा आठ पुरुष र एक महिला सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते कपुरकोट–६ जलवाङका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सल्यान अस्पताल लगिएको छ । दुर्घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय