नेपाली काँग्रेसको शेखर कोईराला पक्षले चियापान कार्यक्रम गरेको छ।
बिहीवार काठमाडौंस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन्।
विशेषगरी आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टी नेतृत्वले आफ्नो समूहका व्यक्तिहरुलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवार सूचिमा न्यायोचित हिस्सा नदिएको भन्दै असन्तुष्ट बन्न पुगेको कोइराला पक्षका दोस्रो र तेस्रो पुस्ताका नेता, कार्यकर्ताले पार्टी नेतृत्वविरुद्ध खबरदारी अभियान सञ्चालन गर्ने क्रममा आज चियापान कार्यक्रमको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा नेता कोइरालाका अतिरिक्त महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित थिए।
कोइराला पक्षले पार्टीको आन्तरिक एकता, समान अवसर र न्याय हुनुपर्ने माग राख्दै आएको छ। कोइराला पक्षधरले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा समानुपातिक तर्फको बन्दसूची आयोगलाई बुझाएको आरोप लगाउँदै समुचित न्याय हुनुपर्ने माग राख्दै आएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको थियो।
पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी बिरोध जनाउँदै आइरहेको छ। कोइराला पक्षले चियापान कार्यक्रमलाई पनि बिरोधकै कार्यक्रमको रुपमा लिएको छ।
कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारत निर्वासनबाट मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएपछि हरेक दशैंको पूर्णिमाका दिन उक्त पार्टीको नेतृत्वले शुभकामना आदान/प्रदानका लागि चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ। तर, यसपटक असन्तुष्ट पक्षले टिकट वितरणको विषयमा असन्तुष्टि जनाउने क्रममा दशैँको सुरुवातमै चियापानको आयोजना गरेर क्रमभंग गर्ने छनक दिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय