हिमाल दैनिक
कांग्रेसभित्रै बिद्रोह गर्नुपर्ने बेला आयोः महामन्त्री थापा
308591888_10159109179269607_1592897695864158360_n
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन्। महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको बताउँदै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको समेत बताए। उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको दाबी पनि गरे। महामन्त्री थापाले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठिक ठाउँमा पु¥याउनुपर्ने बेला आएको छ। नत्र त पार्टी मात्र सत्ताको हतियार हुने भयो। केको लागि पार्टी भन्दा जनमत, केको लागि गठबन्धन भन्दा चुनाव जित्नको लागि यसरी कुनै एउटा पार्टी मात्रै होइन, सबै गठबन्धन गरिरहेका छन्। सबै सिस्टम नै के हुनलाग्यो भने चुनावमय भयो। निर्वाचनदेखि निर्वाचनको गोल चक्कर। यो मात्रै सबै कुरा भयो। हाम्रो आफ्नै पार्टीभित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ। पार्टीमा न्याय भएन भन्नेछ। सन्तुलन भएन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ। यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको छ। यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ। युवाहरुलाई निराश बनाउँदिन।’ महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना समेत गरे। उनले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको आरोप समेत लगाए। उनले भने, ‘यो बेलामा सरकारले पनि काम गर्नु पर्नेछ, मैले प्रधानमन्त्रीज्युलाई भेटेर भनेको पनि छु, यहाँबाट पनि भन्छु, यत्रो डेंगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताकासाथ यो विषयमा लाग्नुपर्ने हो, काम गर्नुपर्ने हो, पटक्कै काम गरेको छैन। यसमा हाम्रो ठूलो असन्तुष्टि छ। काम गरेको तरिका चित्त बुझेको छैन। हिजो हामीले कोभिडको बेलामा त्यो बेलाको सरकारलाई यत्रो कोभिड भइरहेको बेलामा जसरी काम गर्नुपर्ने हो, त्यसरी काम भएन भनेर भन्यौँ। आज आफ्नै सरकारको बारेमा भन्नुपर्दा, सरकार कसैको हुँदैन, सरकार देश र जनताको हुन्छ। मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ, त्यो पार्टी भित्रको कुरा हो, तर आज प्रधानमन्त्री त सिंगो देशको हो। आजको दिनमा मुल काम भनेको यत्रो प्रकोप फैलिसक्यो। चाडबाडको बेलामा यस्तो अस्तव्यस्त भएको छ, तत्काल प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक बोलाएर, स्थानीय सरकारको साथीहरुलाई बोलाएर एकै ठाउँमा बसेर देशभर संक्रमणलाई कसरी घटाउने, यसको रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा सरकारले छुट्टै अभियान सञ्चालन गर्नुपर्छ। सरकारको यो जिम्मेवारी हो।’ उनले सरकार अन्य कुरामा ध्यान केन्द्रित गरेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउँदै आफू स्वास्थ्य मन्त्री हुँदा बताएको बीमाको ऐन अहिलेसम्म कार्यान्वयनमा आएको भए र त्यसअनुरुपको संरचना बनेको भए आज डेंगुको संक्रमणको बेलामा यो र त्यो गर्नुपर्छ भनिरहनु नपर्ने स्थितिको निर्माण हुन सक्ने दाबी गरे। ‘मैले बनाएको कानून मात्रै लागू गरेको भए विनाद चौधरीले पनि वर्षको केही पैसा तिर्नुपर्दथ्यो, सडकमा मकै बेच्नेले पैसा तिर्न नसक्दा सरकारले तिर्नुपर्दथ्यो। अस्पतालको बेडमा गएर बीमा गरेका व्यक्तिहरु सुतिसकेपछि एक रुपैयाँ पैसा पनि खल्तीबाट तिर्नुपर्दैन थियो,’ उनले भने। महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरुले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने उल्लेख गर्दै वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सिमित भएको गुनासो गरे।  
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update