हिमाल दैनिक
नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फका सम्भावित उम्मेदवारहरुको व्यक्तिगत विवरणसहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि संकलन कार्य सुरु गरेको छ। निर्वाचन आयोगको कार्यतालिका बमोजिम असोजको सुरुमा कांग्रेस पार्टीको तर्फबाट आयोगमा बुझाइएको प्रारम्भिक नामावलीमा औपचारिकता निर्वाहका लागि सूचि बुझाइएको भएपनि आयोगले तय गरेको अन्तिम सूचि बुझाउनु अघि पार्टीले उम्मेदवारहरुको विवरण संकलन कार्य सुरु गरेको हो। पार्टीको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फको उम्मेदवारहरुको अन्तिम नामावलीसहितको सूचि तयार पार्ने आन्तरिक गृहकार्यमा रहेको कांग्रेसको केन्द्रीय कार्यालयबाट सम्भावित उम्मेदवारहरुलाई शुक्रबार बिहानैदेखि टेलिफोनमार्फत आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपिसँगै आफ्नो व्यक्तिगत विवरणसहितको फारम लिएर आउन भनिएको छ। यसका लागि पार्टी कार्यालयका सचिव प्रेम केसीले पार्टीका सम्भावित उम्मेदवारहरुलाई केन्द्रीय कार्यालयमा बोलाएर नागरिकता प्रमाणपत्रको प्रतिलिपि र उनीहरुको व्यक्तिगत विवरणसँगै उनीहरुको नाममा रहेको चल, अचल सम्पत्ति विवरण समेत संकलन गर्ने कार्य सुरु गरेका छन्। आयोगको कार्यतालिका अनुसार, यसअघि दलहरुले बुझाएको समानुपातिक सूचिमा देखिएको त्रुटि सच्याउनेदेखि संविधान र निर्वाचन कानूनमा व्यवस्था भए बमोजिमको समूहगत उम्मेदवारहरुको अन्तिम सूचि आइतबारसम्ममा बुझाइसक्नु पर्नेछ। विभिन्न राजनीतिक दलले आयोगमा यसअघि बुझाएको सूचि सार्वजनिक नभएपनि कांग्रेसको तर्फबाट केही व्यक्तिहरुले केही दिनअघि सार्वजनिक गरेको सूचिका आधारमा पार्टीभित्र संस्थापन र गैरसंस्थापन पक्षबीच तिब्र मतभेद बढ्दै गइरहेको थियो। खासगरी सभापति शेरबहादुर देउवा र उनको पक्षले नेता शेखर कोइराला नेतृत्वको अल्पमत पक्षलाई सम्मानजनक स्थान नदिएर पाखा लगाउने कार्य गरेको आरोप लगाउँदै उक्त समूहका दोस्रो र तेस्रो तहका नेता, कार्यकर्ता चरणबद्ध विरोध र खबरदारी कार्यक्रममा उत्रिएका छन्। संस्थापन पक्षका कतिपय नेताहरुले संचारमाध्यममा आएको समानुपातिक सूचिमा सबै उम्मेदवारको नाम सहि नभएको दाबी गर्दै उक्त सूचि नेतृत्वविरुद्ध आरोप र आलोचनाका लागि मात्र गरिएको दुष्प्रचार भएको दाबी गरेका छन्। यसका बाबजूद पनि उक्त सूचिको आधिकारिकताको विषयमा न त आयोगले न त पार्टीले नै कुनै स्पष्टिकरण दिएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update