हिमाल दैनिक
अन्तत सत्ता साझेदार दल जनता समाजवादी पार्टी, नेपालले आसन्न निर्वाचनमा सत्ता साझेदार दलसँगको चुनावी तालमेल नगर्ने भएको छ। विगत लामो समयदेखि पाँच दलीय सत्ता गठबन्धनबीच भएको चुनावी तालमेल सम्बन्धी गृहकार्यमा कहिले शीर्ष नेतृत्व त कहिले कार्यदल सदस्यलाई अल्झाएर सिट बाँडफाँटको मोलमोलाइमा रहेका अध्यक्ष उपेन्द्र यादवले विपक्षी दल नेकपा एमालेसँगको मोलमोलाई फाइदाजनक देखेपछि शुक्रबार बालुवाटारको बैठकबाट बाहिरिएको छ। बिहिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यादवले गरेको वार्ता पश्चात आसन्न निर्वाचनमा एमालेसहितको वठबन्धन बनाउने निश्कर्षमा पुगेपछि उनले आजको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अनुपस्थित भए। यादव नेतृत्वको जसपा गठबन्धनबाट बाहिरिएपछि विगत लामो समयदेखि सत्ता साझेदार दलसँगको तालमेलका लागि लालयित हुँदै आएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु अहिले बालुवाटारमा वार्ताका लागि पुगेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका शीर्ष नेताहरुसँग चुनावी तालमेलको विषयमा छलफलका लागि लोसपाका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको कांग्रेसका एक नेताले जानकारी दिए। तराई, मधेस केन्द्रित राजनीति गर्दै आएका जसपा र लोसपाबीचको आन्तरिक मतभेद र नेताहरुको आपसी टकरावका कारण कांग्रेस र एमालेले एउटाले जसपासँग तालमेल गर्दा अर्कोले लोसपालाई अंकमाल गर्ने त कहिले त्यसको ठिक उल्टो सहयात्राको बाटो तय गर्ने रणनीति अपनाउँदै आएका छन्। सत्ता वठबन्धनमा रहेका कांग्रेस र माओवादीसँगको चुनावी तालेमेलमा आफूले चाहेजति निर्वाचन क्षेत्रमा स्थान नपाउने अवस्था देखेपछि जसपा अध्यक्ष यादवले विपक्षी दल एमालेसँग करिब २५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिनेगरी सहमति गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update