प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
शनिबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले आफूले सो निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताएका हुन्।
त्यस अवसरमा उनले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभार समेत व्यक्त गरे।
उनले भने, ‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनु भएकोमा सिन्धुपाल्चोकका आदरणीय मतदाता एवम् जनसमूदायमा हार्दिक आभार व्यक्त गर्दछु। संघर्षशील पृष्ठभूमि, राजनीतिक पहलकदमीको सम्भाव्यता तथा जिम्मेवारीप्रतिको इमान्दारिताका कारण पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु।’
सत्ता गठबन्धनबीच हालै भएको चुनावी तालमेलका क्रममा सापकोटा निर्वाचित भएको क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा अर्थात सापकोटाको पोल्टामा परेको थियो। यसका बाबजूद सापकोटाका चिरप्रतिद्वन्द्धीका रुपमा परिचित नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गठबन्धनको निर्णय स्वीकार गर्न तयार नदेखिएपछि गठबन्धनभित्रको वातावरण नविथोलियोस् भनि माओवादी नेतृत्वले नै सापकोटालाई पछि हट्न आग्रह गरेपछि उनी चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको हुनसक्ने अडकलबाजी राजनीतिक वृतमा गरिँदैछ।
सभामुख सापकोटाले संसदीय भूमिका नरहेपनि आफू देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने दृढता पनि व्यक्त गरेका छन्।
‘अग्रगामी राजनीतिक अभियन्तामार्फत् आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्नेछु। त्यस्तै, राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी वहन गर्न तयार छु। राजनीतिक एवम् सामाजिक मञ्चमार्फत् सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिनेछैन। मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आर्दश हो,’ उनले भनेका छन्।
सभामुख सापकोटा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लागेपछि माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर सापकोटालाई प्राप्त भएको थियो। यस अवधिमा सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री र वन तथा वातावरणमन्त्री बन्ने असर समेत पाएका थिए।
सभामुख सापकोटाले जनप्रतिनिधिको रुपमा र सभामुखको रुपमा आफूले देश र जनताको पक्षमा सदैव समर्पित भएर काम गरेको दावी समेत गरे।
जनप्रतिनिधिको रुपमा आफूले सिन्धुपाल्चोकबासीको विकासको चाहनालाई मूर्तरुप दिन ज्ञान, क्षमता र विवेकले भ्याएसम्म मेहनत गरेको पनि उनले दाबी गरे।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय