आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल र सिट बाँडफाँटमा सहमति भएको छ।
सत्ता साझेदार दलका रुपमा पाँच दलीय गठबन्धनमा लामो समयदेखि सत्ताको राप र तापमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादवले बिहिबार अचालन गठबन्धनबाट अलग्गिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेपछि बनेको नयाँ सहमतिलाई शनिबार मूर्त रुप दिएपछि सिट बाँडफाँटमा समेत सहमति भएको हो।
ओली निवास बालकोटमा शनिबार भएको सहमति अनुसार, प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ।
यसअघि सत्ता गठबन्धनमा रहेको जसपा लगायतका दलहरुप्रति आक्रामक शैलीमा धारे हात लगाउँदै चुनावमा एक्लै जान डराएको कारण गठबन्धन गरेपनि एमाले एक्लै उनीहरुलाई पछार्न काफी भएको दाबी अध्यक्ष ओलीले गर्दै आएका थिए।
तर, गठबन्धन तोडेर आफ्नो साथमा आएका यादवलाई ओलीले कांग्रेस, माओवादीले भन्दा बढी सिट दिएर चुनावी तालमेल मात्र गरेका छैनन्, यसबाहेक कट्टर राजावादी शक्तिका रुपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आफ्नो चुनावी मोर्चामा सहभागी गराउँदैछन्।
शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका छन। एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ। मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो।
यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ। प्रतिनिधि सभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन। धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन। प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ।
तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने सहमति पत्रमा भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय