नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक भनेर चिनिएका चर्चित नेताद्वय भीमबहादुर रावल र घनश्याम भुसाललाई ओलीले आगामी चुनावमा टिकट नदिएपछि एमालेभित्र द्वन्द्ध चर्किने सम्भावना बढेको छ।
तत्कालिन नेकपा डब्बलको सरकारको नेतृत्व गरिरहेका अध्यक्ष ओलीलाई सत्ताच्यूत गराउने रणनीतिमा सक्रिय भूमिका निर्वाह गरेका रावल र भुसाल पछि पार्टी विभाजन हुँदा असहमतिका बाबजूद पनि एमालेमै १० बुँदे सहमतिको साहारामा बसेपनि ओलीले उनीहरुलाई त्यतिबेला नबर्साएको अनुशासनको कोर्रा चुनावको मुखमा टिकट नदिएर बर्साए।
ओलीले चुनावमा भाग लिन नदिने रणनीति अख्तियार गरेपछि शनिबार नेता भुसालले सामाजिक सञ्जालमार्फत ओलीको दम्भ र अहंकारका कारण पार्टीमा बस्न नसक्ने स्थिति बनेको भन्दै एमाले परित्यागको घोषणा गरेका छन्।
साथै उनले आसन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्रकै हैसियतमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उता एमालेबाट बाहिरिएको घोषणा गरेका भुसाललाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्ह लिएर चुनावमा खडा हुन सन्देश पठाएको बताइएको छ। तर, भुसालले यसबारे अहिले नै केही प्रतिक्रिया दिएका छैनन्।
यसका बाबजूद पनि सत्ता गठबन्धनले यदी भुसालले मनोनयन दर्ता गरेको खण्डमा उक्त क्षेत्रमा आफ्नो उम्मेदवार नदिएर उनैलाई सघाउन सक्ने सम्भावना बढेर गएको छ।
तर, अर्का नेता भीम रावलले भने अछामबाट चुनावमा एमालेको टिकट नपाएको खण्डमा स्वतन्त्र अथवा माओवादीसहितको गठबन्धनको समर्थनमा उम्मेदवार बन्ने भन्ने बारे अहिलेसम्म कुनै औपचारिक धारणा बाहिर ल्याएका छैनन्।
रावलको नाम एकल सिफारिस भएर जिल्लाबाट आएपनि एमाले अध्यक्ष ओलीले रावललाई पाखा लगाउँदै हालै माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएका छन्। रावलमाथि ओलीले गरेको अन्यायले अछाम एमालेभित्र ठूलै भुकम्प जाने सम्भावना बढेको छ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय