हिमाल दैनिक
एमाले अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेपछि पार्टी परित्यागको घोषणा गरेका वामपन्थी नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यकासाथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए। नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए। नेता भुसालले भने, ‘मलाई हिजो माओवादीका साथीहरुले विनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गर्नुभएको थियो। आफ्नो निर्वाचन चिन्ह लिएर चुनाव लड्न कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो। तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ। यसका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं अन्य नेताहरुलाई धेरै धेरै धन्यवाद छ। मध्यराती १२ बजे प्रचण्डले गठबन्धनमा प्रधानमन्त्रीसँग सोध्नुपर्छ भन्नुभयो। राति नै मलाई फोन गरेर हामी गठबन्धनबाट त्यस क्षेत्रमा उम्मेदवारी दिँदैनाँै। तपाईलाई सहयोग गर्छौं भन्नुभएको छ।’ उनले आफूलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भएपनि आफूले स्वतन्त्रबाट नै उम्मेदवारी दिन चाहेको बताए। उनले आफू राजनीतिमा सक्रिय व्यक्ति भएकाले संसदबाटै राजनीतिमा प्रभावकारी भुमिका खेल्ने बताए। नेता भुसालले वाम एकताको कुरा गरेकै कारण आफूलाई किनारा लगाइएको दाबी गरे। उनले नीति अनुसारको नेतृत्व आएको भए नेकपा एमाले भ्रष्टाचार नगर्ने नेताहरूको पार्टी बन्ने र एमाले नेतृत्वको सरकार रोजगार दिने पार्टी हुने दाबी समेत गरे। यसअघिको नेकपा डब्बलका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पटक पटक संसद विघटन गर्दै पार्टीभित्रका विरोधी समूहलाई सफाया गर्न लागेपछि नेता भुसालसहितका दर्जनौँ पार्टी नेताहरुले ओलीविरुद्धको अभियान चलाएका थिए। त्यसका बाबजूद तत्कालिन एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुले एमालेबाट अलग भएर नयाँ दल दर्ता गरेपनि भुसालसहित भीमबहादुर रावल लगायतका १० भाईले एमालेमै रहेर पार्टीलाई सहि दिशामा अघि बढाउने बताएका थिए। तर, उनीहरुमध्ये अधिकांशलाई ओलीले टिकट दिएपछि भुसाल र रावललाई आगामी चुनावमा उम्मेदवार बन्ने बाटो रोकिदिएपछि भुसालले स्वतन्त्र उम्मेदवारीको बाटो रोजेका हुन्। रावल भने अझै निर्णयमा पुगिसकेका छैनन्।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update