हिमाल दैनिक
कांग्रेस नेता किरण पौडेलद्वारा पार्टी परित्यागको घोषणा
274725745_4832601203442031_4071823404814643595_n
आगामी निर्वाचनमा पार्टीको तर्फबाट कुनै पनि तहमा टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टी सदस्यताबाटै राजीनामा दिएको घोषणा गरेका छन्। विद्यार्थी जीवनकालदेखि नै कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै विभिन्न तहमा क्रियाशील हुँदै आएका बाग्लुङका नेता पौडेलले आइतबार सामाजिक सञ्जालमा पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै मुख्यसचिव मार्फत पार्टी सदस्य समेत नरहने घोषणासहितको राजीनामा दिएका हुन्। फेसबुकमार्फत नेता पौडेलले दिएको राजीनामामा भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त, विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन। मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो। यस पटक न्यायोचित निर्णय आउने आशामा थिए, आएन। नेबिसंघको राजनीतिक पृष्ठभूमिबाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागी जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ। निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेका हरू मात्रै योग्य हुने परिपाटी आफुलाई सदैव अस्वीकार्य छ र रहने छ। मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब मार्फ़त हजुर श्री शेर बहादुर देउवा समक्ष राजिनामा पेश गरेको छु।’ पंचायत कालमा पार्टीमाथि प्रतिबन्ध लागेको अवस्थामा आफू २०३५÷३६ सालको बिध्यार्थी आन्दोलनमा सक्रिय भएको बेलादेखि हालसम्म ४४ बर्ष निरन्तर इमान्दारीता पूर्वक पार्टीको आमन्त्रित केन्द्रीय सदस्यसम्म भई काम गरेको बताउने पौडेलले पछिल्लो पटक सके प्रतिनिधि सभा र नभए प्रदेश सभामै भएपनि टिकटको आशा गरेका थिए। तर, त्यो आशामा तुषारापात भएपछि आइतबार उनले पार्टी सदस्यताबाट अलग हुँदै अहिलेसम्म आफूलाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update