जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
लामिछानेलाई म्याद थपका लागि प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। योसँगै लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिन सुरु गरेको छ।
म्याद थपपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेको बताए।
लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको बताएको घिमिरेले बताए।
लामिछानेको उक्त बयानले जाहेरवालाको दाबी बमोजिम उनीहरुबीच भेटघाट भएको विषय सत्य सावित गरेको छ। उनीहरुबीच सहमतिमा अथवा जबरजस्ती शारिरीक सम्बन्ध भए नभएको विषयमा थप अनुसन्धानपछि मात्रै पुष्टि हुने छ।
जाहेरवालाले म १९ वर्षको भएँ भनेर इजलास समक्ष भनेको वकिल घिमिरेले जानकारी दिए।
त्यस्तै इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेको वकिल घिमिरेले जानकारी दिए।
जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको घिमिरेको भनाई छ।
त्यस्तै अर्का अभिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन्।
जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेकाले सन्दीपलाई फसाँउन खोज्नेले जाहेरवालालाई परिचालन गरेको आशंका गरिएको उनको दाबी छ।
पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेपछि अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो।
लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो। लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेको थियो।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्