नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।
भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राजधानी काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । झण्डै दुई साता लगातारको वर्षाले काठमाडौँसहित देशका कतिपय स्थानमा चिसो बढेको थियो । पछिल्ला दिनमा घाम लागिरहेकाले तापक्रम पनि स्थिर रहेको छ । आज काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । रासस
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय