हिमाल दैनिक
प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
PM Deuba at Police day
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्। नेपाल प्रहरीको ६७औं स्थापना दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिएका हुन्। उनले सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने उल्लेख गर्दै नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘सूचना प्रविधिलाई समायानुकुल परिवर्तन गरी अघि बढ्नसकेमात्रै कुनैपनि संगठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ। प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु। नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ। नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गरी जान आवश्यक छ। यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु।’ उनले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकुल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि बताए। प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन पनि निर्देशन दिए। उनले भने, ‘आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हुनेछ। आगामी निर्वाचनमा नेपाल प्रहरीले आफ्नो मुलभुत दायित्व इमन्दारिताकासाथ निर्वाह गर्नुपर्नेछ। ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु। सिमित श्रोत, साधन, कठिनाइका बीच भएका श्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु।’ प्रधानमन्त्री देउवाले गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भुमिका प्रशंसायोग्य रहेको पनि बताए। विगतदेखि वर्तमानसम्मका सबै निर्वाचनमा शान्ति, सुरक्षाको पहिलो घेरामा सक्रियताका साथ उभिँदै आएको नेपाल प्रहरीको भूमिका आगामी निर्वाचनमा पनि उत्तिकै महत्वपूर्ण रहने अवस्थामा देउवाले भने, ‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु।’ प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवाद समेत व्यक्त गरे।  
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update