आसन्न निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरुभएकै भोलिपल्ट यो पंक्तिकार पत्रकार मित्रद्वय रामजी दाहाल र खिला कार्कीसँगै बागमती प्रदेशको राजधानी मकवानपुरको सदरमुकाम हेटौँडा पुग्यो।
काठमाडौँमा एकाएक चिस्सिँदै गएको मौसमसँगै विस्तारै तात्दै गरेको चुनावी सरगर्मीको माहोल छाडेर कार्तिक १८ गते भित्रमधेसको हेटौँडा पुग्दा त्यहाँको मौसम अलिक गर्मी लाग्यो। तर, चुनावी सरगर्मीले भने त्यहाँको राजनीतिक वातावरण खासै चर्काएको रहेनछ। अलिकति चिसै रहेछ।
हामीहरु हेटौँडा पुग्दैछौँ भन्ने जानकारी पाएपछि चितवनमा रहेका नेपालखबरका पत्रकार मित्र जेबी पुन पनि हामीसँग जोडिन पुगे। त्यसपछि स्थानीय पत्रकार मित्र राममणी दाहालको साथ लागेर हामीहरु हेटौँडा बजारको वरपरका स्थानीयसँग सामान्य भलाकुसारी गर्दै अपरान्ह ४ बजेतिर बजारभन्दा केही किलोमिटर पूर्वतिर पर्ने हेटौँडा चिसापानी–१६ मा पुग्यौँ।
हाम्रो उद्देश्य अनुसार नै चिसापानीको सानो बजारस्थित एक चिया पसलमा चिया पिउने बहानामा हामीहरुले पुग्यौँ र चियाँ बनाउन पसलवाला दाईलाई आग्रह गर्यौँ। जहाँ हामीभन्दा पहिले नै दुई÷तीन जना स्थानीय मानिसहरु बसेर आपसमा वार्तलाप गरिरहेका थिए।
उनीहरुसँग आसन्न आमनिर्वाचनको विषयमा त्यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको विषयमा स्थानीयबासीको धारणा बुझ्ने लक्ष्यले चुनावी सरगर्मीको चर्चा गर्दा एक स्थानीयबासीको प्रतिक्रियाले हामीलाई चकित तुल्यायो।
लोकनाथ बाँस्तोला नाम बताउने ६१ वर्षिय स्थानीय बासिन्दाले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को चुनावी अवस्थाबारे सडक छेवैमा थुपारेर राखेको परालको थुप्रो देखाउँदै भने, ‘काठमाडौंको चुनावी राजनीति कुनिहोमा मुठा पारेको पराल जस्तै होला, तर यहाँको चुनावी राजनीति थ्रेसर मेसिनले धान झारेपछि टुक्रिएर धुस्न भएको परालको थुप्रो जस्तै छ।’
चुनावी सरगर्मीका बारेमा उनले प्रयोग गरेको राजनीतिक विम्वले हामीलाई स्थानीय बासिन्दाहरुसँग आफ्नो परिचय खुलाउन र चुनावकाबारे उनीहरुसँग थप जिज्ञासा राख्न ढोका खोलिदियो।
त्यसपछि उनीसँगै बसेको अर्का स्थानीय शिक्षक बिष्णुमान श्रेष्ठले आम जनतामा चुनावले खासै उत्साह नल्याएको जानकारी दिए।
राजनीतिप्रति समाजमा फैलिँदै गएको निराशा र वितृष्णाको भावमा उनले भने, ‘चुनाव आयो, जनतामा खासै चासो छैन। हुनत, हामीले भोट नहालेपनि कुनै न कुनै उम्मदेवारले जित्छ नै। तर, चोरहरुमध्ये कम चोरलाई यसपाली मत दिएर जिताउन पाए हुन्थ्यो भन्ने लागेको छ।’
राजनीतिक दलसँग लामो समयदेखि आवद्ध भएर आफ्नो अभिमत दिँदै आएपनि पछिल्लो समय दल र दलका नेताप्रतिको वितृष्णाले भरिएको भाव व्यक्त गर्ने बाँस्तोला र श्रेष्ठसँग पछिल्लो समय चर्चामा आउँदै गरेको स्वतन्त्र उम्मेदवारहरुको विषयमा जिज्ञासा राख्दा दुबैको धारणा समान आयो।
स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारलाई मत दिएर जिताउँदा उसले खेल्न सक्ने भूमिका फरक र प्रभावकारी भएपनि संघ र प्रदेश तहमा स्वतन्त्र उम्मेदवारको हैसियत र भूमिका केही नहुने बुझाइ उनीहरुमा रहेछ।
पञ्चायतकालका चर्चित राजनीतिक अभियन्ता रुपचन्द्र बिष्टलाई मकवानपुरबाट निर्वाचित गरेर राष्ट्रिय पञ्चायतमा पठाएको घटना स्मरण गर्दै श्रेष्ठले भने, ‘जिताउन न त थाहा अभियान्ता रुपचन्द्र बिष्टलाई पनि हामीले यहाँबाट विजयी बनाएर पठाएकै हौँ। उनको विजयले मकवानपुरका जनतामा राजनीतिक र सामाजिक जनचेतना बढाउन ठूलो भूमिका खेलेपनि मकवानपुरको भौतिक पूर्वाधार विकासका लागि केही भएन। माथि गएर एक्लै कराएर केही हुँदोरहेनछ र भएन पनि।’
त्यसपछि बिष्टसँगै पञ्चायतकालिन राजनीतिबाट उदाएर बहुदलीय संसदीय व्यवस्थाहुँदै गणतन्त्र नेपालको वर्तमान परिवेशमा पनि राष्ट्रिय राजनीतिमा छाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको विषयमा चर्चा सुरु भयो।
थापाको विषयमा टिप्पणी गर्दै श्रेष्ठले भने, ‘राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पराजयलाई स्वीकार्न नसकेका कमल थापाले राप्रपा नेपाल बनाए र अहिले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावी मैदानमा उत्रिएका छन्। भलै उनी अहिले एमालेमा प्रवेश गरेका छैनन् तर, चुनावमा जितेभने उनी एमाले सांसदको रुपमा फेरि मन्त्री हुने होलान्, पराजित भए भने म राप्रपा नेपालकै अध्यक्ष हुँ भन्दै हिाड्ने त होलान् नि!’
त्यहीबीचमा थप्दै बाँस्तोलाले भने, ‘जीवनभर सत्ता, शक्ति र पदका लागि जस्तोसुकै रुप धारण गर्न सक्ने कमल थापाले अब जीवनको उत्तरार्धमा के नै गर्नु छ र? हिँजो पार्टी अधिवेशनमा लोकतान्त्रिक विधि र पद्धती बमोजिम चुनावमा लिङ्देनसँग पराजित भएपछि पराजयलाई स्वीकार्न नसकेका थापाले हलो ताछेर तीर बनाए। अब फेरि चुनाव हारेछन् अथवा पार्टी अध्यक्ष छाड्नु परेछ भने तीर चिरेर टपरी गाँस्ने सिन्का त बनाउँलान् नि! त्यो बाहेक उनीबाट मकवानपुरबासीका लागि केही हुँदैन।’
क्रमशः
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्