बागमती प्रदेशको राजधानी हेटौँडा (मकवानपुर)मा चुनावी माहोल विस्तारै सुरु हुँदैछ।
प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने चर्चित नेताहरु नै प्रमुख राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्।
विशेषगरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्याय र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै राप्रपाका दिपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा छन्।
निरंकुश पञ्चायती व्यवस्थाको अवसानपूर्व राष्ट्रिय राजनीतिमा उदाएर स्थापित नेताका रुपमा परिचित कमल थापादेखि निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेसले चलाएको ०४२ सालको सत्याग्रहमा कांग्रेस नेतृ शैलजा आचार्यसँगै जेल जीवन विताउन नहिच्किचाउने डिनालाई पछिल्लो स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा राप्रपाको प्रत्यासी बनेर एकाएक चर्चामा आएका दिपकबहादुर सिंहले चुनौति दिने कोशिश गर्दैछन्।
चुनावी प्रसारप्रसारका क्रममा अहिले यी तीन जनाले अहोरात्र घरदैलो र कोणसभा गर्दै जनताको मत आफ्नो पक्षमा पार्न लागिपरेका छन्।
उनीहरुको व्यक्तिगत राजनीतिक जीवनको चर्चा गर्ने हो भने, कसैको पनि एकअर्कासँग पटक्कै मेल खाँदैन।
कमल थापालाई जान्ने, बुझ्ने जोकोहीले पनि उनलाई सत्ता, शक्ति र पदका लागि जे पनि गर्न सक्ने अर्थात त्यसका लागि परिक्रमामा विश्वास गर्ने व्यक्तिको रुपमा चिन्छन्।
निरंकुश पञ्चायती शासन व्यवस्थामा राजतन्त्र र राजदरबारको परिक्रमा गर्दै राजदरबारकै छत्रछायाँमा हुर्किएका थापा बहुदलीय संसदीय व्यवस्थामा पनि देशको शासनसत्ताको केन्द्रमा रहे।
उनको सफलतासँगै उनको राजनीतिक चरित्रका विषयमा कुनै समय उनैका राजनीतिक गुरु जस्तै मानिएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ‘मुसा प्रवृत्ति’को उपमा दिएका थिए।
त्यतिले नपुगेर तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि प्रजातान्त्रिक शासन व्यवस्थाविरुद्ध निरंकुश राजतन्त्रको बचाउमा बहुदलीय व्यवस्थाका समर्थकमाथि ‘साँच्चिकै कफ्र्यू’ (ख्यालख्यालको कफ्र्यू होइन) लगाउने असफल प्रयास गरेका थिए। त्यसलगत्तै स्थापित संघीय लोकतान्त्रिक शासन व्यवस्थामा पनि सत्ता र शक्तिको केन्द्रमा आफ्नो पकड जमाउन र त्यसमा रजगज गर्न उनी सफलै भए।
दोस्रो जनआन्दोलनको उभारमा सुरु भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा बनेको नयाँ संविधान र त्यसले अंगिकार गरेको शासन व्यवस्थाको विरुद्धमा विष वमन गर्र्न राजसंंस्था र हिन्दु धर्मको वकालत गर्दै पूर्व पञ्च र दरबारिया नेताहरुलाई पाखा लगाएर राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व लिँदै आएका थापाले सत्ता र शक्तिका निम्ति गरेका कतिपय विवादस्पद कदम अझै पनि चर्चामा छन्।
उदाहरणका लागि संवैधानिक राजसंस्था र हिन्दु धर्मको नारा लगाएर समानुपातिक निर्वाचन प्रणालीबाट दोस्रो संविधान सभामा उल्लेख्य संख्यामा उपस्थिती देखाउन सफल थापाले सत्ता राजनीति र व्यक्तिगत स्वार्थका लागि संविधानको विरोध गर्दै त्यही संविधानको परिधिभित्र सरकारको मन्त्री मात्रै बनेनन्। नेपालको इतिहासमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक नहुँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई सोझै पठाए पनि।
संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानले अंगिकार गरेको शासन व्यवस्थाको मूल मर्ममाथि प्रहार गर्ने लक्ष्यसहितको नारा बोकेर हिँडेका थापाले विगतमा धर्म निरपेक्षता र गणतन्त्रको विरुद्धमा देशव्यापी अभियान नै चलाए। तर, जब एक वर्षअघि सम्पन्न पार्टी अधिवेशनमा सपनामा पनि नचिताएको परिणाम आयो र आफ्नै कार्यकर्ता राजेन्द्र लिङदेनबाट राप्रपा अध्यक्ष पदको चुनावमा पराजित भए त्यसपछि उनको राजसंस्थाप्रतिको मोह भंग भयो।
पञ्चायतकालमा राजा र राजवादीहरुको परिक्रमा गर्दै राजनीतिक सफलताको पगरी गुथेका थापाले त्यसपछिका दिनका कहिले सूर्यबहादुर थापा, कहिले लोकन्द्रबहादुर चन्दको परिक्रमा लगाए। अवसरको पर्खाइमा ढुकेर बसेका थापाले मौका मिल्नासाथ उनीहरुसँगै कतिपय आफ्नै विश्वासपात्रहरुलाई समेत पाखा लगाएका अनगिन्ती घटना ताजै छन्।
पछिल्लो समय लिङदेनबाट पराजयको स्वाद चाखेपछि उनले निर्मल निवासमाथि धारेहात लगाउँदै राजसंस्थाको नारा छाडेर हिन्दु धर्मको मात्रै मन्त्र जप्ने नयाँ दल राप्रपा नेपाल गठन गरे।
राष्ट्रिय राजनीतिमा परिक्षण हुन नपाउँदै उनै थापाले चुनावमा जसरी पनि आफू निर्वाचित हुने सपना बोकेर आफ्नो दलको भन्दा विपरित राजनीतिक दर्शन र सिद्धान्त बोकेको एमालेको सूर्य चिन्ह केपी शर्मा ओलीसँग भाडामा लिएर अहिले चुनावी मैदानमा उत्रिँदैछन्।
[caption id="attachment_35247" align="alignnone" width="2048"] हेटाैँडा-१६ चिसापानी पसलमा भेटिएका स्थानीय बासिन्दाहरू...[/caption]
जीवनभर राजसंस्थाको पक्षपोषण गर्दै लोकतनत्रको विरोधीका रुपमा आफूलाई परिचित गराउँदै आएका थापाले जीवनको उत्तरार्धमा एकाएक दर्शन, सिद्धान्त र आदर्शले कहीँ कतै मेल नखाने एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा आएपछि हेटौँडा चिसापानीका लोकनाथ बाँस्तोलाले कटाक्ष गर्दै भने, ‘हिँजो दरबारको परिक्रमामा रमाए अहिले हलो ताछेर तीर र तीर छाडेर केप ीओलीको परिक्रमा गर्दै सूर्य थमाए। अब भोली तीर चिरेर दुना टपरी गाँस्ने सिन्का बनाउलान्।’
यसैगरी थापालाई चुनौती दिन उनैका कार्यकर्ता दिपकबहादुर सिंह अहिले राप्रपाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
पूर्व पञ्च अकबरबहादुर सिंहका दाजुभाई मध्ये एक मोहनबहादुर सिंह अञ्चलाधिस भएर सुदूरपश्चिमबाट हेटौँडा आएपछि जोडेको जग्गाजमिनका मालिक दिपक राजासाहेव जस्तै भएको स्थानीयको टिप्पणी छ।
ठेकदार र व्यापारिक पृष्ठभूमिका सिंहको राजनीतिक जीवन खासै चर्चा गर्न योग्य केही नभएपनि उनी गत स्थानीय निर्वाचनमा राप्रपाको उम्मेदवार बनेर कांग्रेस, एमाले जस्ता दलकै असन्तुष्ट नेता, कार्यकर्ता र मतदाताको मतले प्रमुख दलका उम्मेदवारलाई चुनौती दिन सफल भएका थिए।
त्यही मतको उन्मादमा उनी अहिले चुनावी मैदानमा उत्रिएको भएपनि उनीसँग आफ्नै पार्टीको पनि सग्लो मत छैन। पुरानो राप्रपाको केही मत थापाले लाने अवस्थामा चोइटिएको राप्रपाको केही मतमा कांग्रेस र एमालेका असन्तुष्ट केही मतको आडमा उनी विजयको शीखर चुम्न कठिन प्रायः देखिन्छ।
उता, ०३६ सालको विद्यार्थी आन्दोलनदेखि विद्रोही राजनीतिक चेतना बोकेर कलिलै उमेरमा पनि सत्याग्रह गर्न र जेल जीवन विताउन तयार कांग्रेसकी उम्मेदवार डिनाको बेग्लै परिचय छ।
जनआन्दोलन लगत्तै सम्पन्न आम निर्वाचनमा पटक पटक मकवानपुरबाट निर्वाचन लडेर पराजित हुँदा पनि डिना राजनीतिक जीवनमा थाकेर पलायनको बाटो पक्रिएकी छैनन्। बरु कहिले महिला जागरणको नाममा त कहिले सहकारी आन्दोलनको नाममा उनी निरन्तर क्रियाशील छिन्।
यसअघिको संसदीय निर्वाचनदेखि पार्टीको १३औं महाधिवेशनमा समेत महिला कोटाबाट समावेशी, समानुपातिक प्रतिनिधित्व गर्ने अवसर छाडेर सोझो प्रतिस्पर्धा र पराक्रमको माध्यमबाट राष्ट्रिय राजनीतिमा स्थापित हुन चाहिन। फलस्वरुप अघिल्लो अधिवेशनमा महिला कोटाबाट पार्टी केन्द्रीय सदस्य हुन भन्दा खल्ला प्रतिस्पर्धामा पराजित हुन तयार भइन्। यतिमात्र होइन, अघिल्लो आम निर्वाचनमा सभापति शेरबहादुर देउवाले समेत समानुपातिकमा बस्ने भए बस भन्दा प्रत्यक्ष निर्वाचनको बाटो रोज्दै मकवानपुर २ बाट पराजित हुन तयार भइन्।
के भन्छन् त हेटौँडाका मतदाताहरु उपाध्याय, थापा र सिंहको बारेमा?
दलगत उम्मेदवारहरु गाउँ, गाउँ र टोल, टोलमा पुग्दै गर्दा हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीका स्थानीय बासिन्दा भने उम्मेदवारको विषयमा विश्लेषण र चर्चा गर्न व्यस्त छन्।
कार्तिक १८ गते साँझ चिसापानी हटियामा भेटिएका स्थानीय शिक्षक बिष्णुमान श्रेष्ठले पञ्चायतकालदेखि नै राजनीतिक चेतनाले भरिएको हटिया त्यतिबेलादेखि नै कम्युनिष्टहरुको पकडका कारण ‘रेड जोन’का रुपमा परिचित भएपनि अहिले एउटै घरका चार जना सदस्यको भोट पनि एउटै पार्टीको उम्मेदवारलाई जाने स्थितिमा नरहेको बताउँछन्।
‘०४६ सालको परिवर्तन पश्चात लाल किल्लाका रुपमा परिचित यो क्षेत्रमा त्यतिबेला कांग्रेस भनेपछि सीला खोज्नु पर्ने अवस्थामा थियो। जसको कारण पटक पटक एमाले नेता कृष्णप्रसाद दाहालले ०५१ सालको मध्यावधि निर्वाचनमा बाहेक अरु बेला चुनाव जितेर लिनेजति फाइदा लिए। तर, अहिले निर्वाचनको परिणाम बदलिन सक्छ,’ श्रेष्ठले भने।
०५१ सालको मध्यावधि निर्वाचनमा कमल थापाले जितेपनि त्यसपछिका निर्वाचनमा पराजित भएका थापाले अघिल्लो पटक ०७४ को चुनावमा राप्रपाबाटै चुनाव लडेका थिए। उनले त्यतिबेला कांग्रेसको समर्थनमा ३५ हजार मत ल्याए पनि अहिले थापा स्वयंको पार्टी राप्रपा नेपालको ५ हजार हाराहारीमा पनि भोट नभएको टिप्पणी गर्दै श्रेष्ठले भने, ‘चुनाव जितिन्छ कि भनेर राप्रपा नेपालको तीर छाडेर एमालेको सूर्य चिन्ह लिएर थापा चुनावी मैदानमा उत्रिएका छन्। तर, एमालेका पुराना नेता, कार्यकतामध्ये आधाआधीले पनि कमल थापालाई मत दिनसक्ने अवस्थामा छैनन्। यदी पुरानै राप्रपाको तर्फबाट चुनावमा आएको भए एमालेको मतले थापा उत्रिन पनि सक्थे होला। त्यो पनि भएन। राप्रपाकै मत समेत विभाजित भएको अवस्थामा तीर लिएर चुनावमा उभिएको भए धरौटी पनि जफत हुनेवाला थियो। तर, उनी चलाखीपूर्ण तबरले एमालेमा नगएर पनि एमालेको सूर्य चिन्हमा चुनाव लड्दै गर्दा एमालेका नेता, कार्यकर्तादेखि थापालाई चिन्ने, जान्ने सर्वसाधारणले समेत उनी पद र पावरका लागि जे पनि गर्न सक्छन् भन्ने बुझाइमा रहँदा उनको स्थिति ०७४ को भन्दा पनि कमजोर रहन्छ।’
कुनै बेला थापाका सहयोगीका रुपमा परिचित राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहको विषयमा पनि स्थानीयको बुझाई खासै सकारात्मक छैन। यसअघिको स्थानीय निर्वाचनमा कांग्रेस र एमालेका असन्तुष्ट मतदाताले खन्याइदिएको मतले हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा तेस्रो भएपनि त्यो मत अहिले उनले पाउने सम्भावना कम रहेको उनीहरु बताउँछन्।
‘यसका बाबजूद केही कांग्रेस र एमालेक नेता, कार्यकर्ता जसले कांग्रेस उम्मेदवार डिना र एमालेको चिन्हमा लडेका थापालाई मन पराउँदैनन् उनीहरुले भने दिपक सिंहलाई मत दिनसक्ने सम्भावना छ,’ श्रेष्ठले भने।
कतिपय स्थानीयको बुझाइमा सिंहलाई थापाले नै एमाले र कांग्रेसको भोट कटाउन मैदानमा उतारेको हुन पनि सक्ने आशंका गर्दछन्।
यसका बाबजूद पूर्वी पहाडी भूभागका केही गाउँ, टोलमा विपन्न वर्गका तामाङहरुलाई चुनावको अन्तिम समयमा जसले पैसा बाँड्न सक्छ उसैले चुनाव जित्न सक्ने आकलन उनीहरु गर्दछन्।
कांग्रेस उम्मेदवार डिनाको विषयमा चर्चा गर्न खोज्दा कतिपय स्थानीय बासिन्दाले सत्तामा रहेको कांग्रेस र त्यसको नेतृत्वसँगको सामिप्यतामा रहेकी डिनाप्रति पनि असन्तुष्टि व्यक्त गर्दछन्।
खासगरी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति रुष्ट स्थानीयबासीहरु डिनालाई मत दिनु भनेको फेरिपनि देउवाकै सत्ता टिकाउनु हो भनि विरोध गर्दछन्।
त्यसबाहेक डिनाको विषयमा उनीहरुले न त थापाको जस्तो पदीय दुरुपयोग गरेको आरोप छ न त अरु कुनै विशेष लाञ्छना नै।
यदी डिनाको कमजोरी छ भने, उनकै पार्टीको कमजोर संगठन र आन्तरिक द्वन्द्ध बाहेक केही नभएको उनीहरुको भनाई छ।
कमजोरीबारे चर्चाका क्रममा श्रेष्ठले विगतमा चार निर्वाचन क्षेत्र हुँदा बजारबाट चुनाव लडेकी डिना पूर्वी क्षेत्रमा नयाँ अनुहार भएको बताउँछन्।
यसका बाबजूद पाँच दलीय गठबन्धनको गत स्थानीय तहमा आएको मत परिणामको आधारमा यसपटक अन्य उम्मेदवारभन्दा सत्ता गठबन्धनकी उम्मेदवार डिनालाई नै बढी मत आउन सक्ने आकलन शिक्षक श्रेष्ठको छ।
यस्तो अवस्थामा तीनमध्ये कुन उम्मेदवारसँग पैखा खर्च गर्न सक्ने क्षमता छ भन्ने प्रश्नको जवाफमा स्थानीय बासिन्दाहरु भन्छन्, ‘डिनासँग भन्दा कमल र दिपक नै खर्च गर्न बलियो देखिन्छन्।’
राजनीतिक दलहरुले संमृद्धी र विकासको नारा लगाइरहेको विषयमा चर्चा गर्दा स्थानीयहरुको धारणा भने बेग्लै छ। उनीहरु एकै स्वरमा भन्छन्, ‘विकास भनेको स्वस्फूर्त स्थानीय जनप्रतिनिधिको माध्यमबाट हुने हो, संसदीय निर्वाचनमा त मतदाताहरु पैसामा नै बढी केन्द्रीत छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय