नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई विजयी बनाउनु पर्नेमा जोड दिएका छन्।
बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेसका पूर्व उपसभापति समेत रहेका नेता निधिले एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको उक्साहटमा राष्ट्रपतिले पटक पटक संविधान उल्लंघन गरेकोले आरोप लगाउँदै संविधान र शासन व्यवस्थाको संरक्षण गर्न पनि निर्वाचनमा गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए।
संविधानको रक्षा गरे मात्र संविधानले मुलुकको रक्षा गर्ने उनको भनाई छ।
निधिले मंसिर ४ को चुनाबमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले सक्षम उम्मेदवारहरु उठाएको दाबी समेत गरे।
नयाँ राजनीतिक परिवर्तनसँगै गठन भएको दोस्रो संविधान सभामा कांग्रेसको कुशल नेतृत्व पुगेकै कारण मुलुकमा संघीय लोकतान्त्रिक संविधान जारी हुन सकेको दाबी गर्दै उक्त संविधान र त्यसले निर्धारण गरेको शासन व्यवस्थाको संस्थागत विकासमार्फत देश र जनताको उन्नती र प्रगतिका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक भएको उनले बताए।
कार्यक्रममा सिन्धुपाल्चोकबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीय सदस्य रहेका यस्मिन ढुंगानासहित क्षेत्र नम्बर २ का विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका नेता, कार्यकर्तालाई नेता निधिले पार्टीको सदस्यतासँगै खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
त्यस्तै कांग्रेस नेता एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका मोहनबहादर बस्नेतले पार्टीमा प्रवेश नेताहरुलाई उचित सम्मान र इज्जत दिने आश्वासन दिए।
जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको नेता बस्नेतले बताए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय