हिमाल दैनिक
प्रतिगमनकारी गठबन्धनको विरुद्ध सत्ता गठबन्धनलाई मत दिन नेता निधिको आग्रह
parsa
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेसहितको चुनावी गठबन्धनलाई प्रतिगमनकारी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनलाई परास्त गर्न पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन मतदातासँग आह्वान गरेका छन्। नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ द्धारा शुक्रबार बिहान मालपोत रोडमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता निधिले संविधान, संघीयता, लोकतन्त्र र समावेशिताका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताएका हुन्। नागरिकता समस्याको दीर्घकालीन समाधान खोज्न कांग्रेसको पहलमा संसदबाट पास गरेर अघि बढाइएको नागरिकता विधेयक एमालेको उक्साहटमा राष्टपतिले अड्काएको आरोप निधिले लगाए। चुनावपछि नागरिकता विधेयक पारित गरेर कांग्रेसले नागरिकता सम्बन्धी समस्या हल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। कांग्रेस लगायतका दलहरु राजाको प्रत्यक्ष शासनका बेला लोकतन्त्रका लागि आन्दोलन गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका बिरुद्ध अभिव्यक्ति दिएको स्मरण गराउँदै नेता निधिले लोकतन्त्र विरोधी ओली नेतृत्वको गठबन्धनमा सहभागी जसपाका उम्मेदवारलाई मत दिनु लोकतन्त्रको विपक्षमा मत दिनु भएको उल्लेख गरे। पूर्व पञ्च र राजावादीहरुको बाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग एमालेले गरेको चुनावी गठबन्धनको विषयमा नेता निधिले राजा ल्याउने घोषित नीति लिएको राप्रपासँग ओलीले चुनावी गठबन्धन गरेर संविधान र व्यवस्थामाथि धावा बोल्ने कोशिश गरिरहेको आरोप पनि लगाए। कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार एवं कांग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरसियाले एमाले नेतृत्वको गठबन्धन मधेशी जनताको अधिकार बिरोधी भएको भन्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे। हिजो यहाँबाट जितेका जनप्रतिनिधिले जनताका पक्षमा केही काम गर्न नसकेको भन्दै उनले आफूले जितेर गएपछि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाए। उनले रोजगारीका लागि खाडी मुलुक जानुपर्ने युवाहरुको बाध्यतालाई सम्बोधन गर्न यो क्षेत्रमा प्राबिधिक शिक्षालय खोल्ने योजना सुनाए। त्यस अबसरमा पर्सा क्षेत्र नं २ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश कुर्मीले जसपा नेतृत्वको वीरगञ्ज महानगरपालिकाले सत्ताको चरम दुरुपयोग गर्दै भोट बटुल्नका लागि मनपरी ढंगबाट करारमा कर्मचारी नियुक्त गरेकोमा आपत्ति जनाए। प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माले संघ र प्रदेश दुबै सरकार कांग्रेसको नेतृत्वमा बनाउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई मत दिनुपर्ने बताए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update