प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणाम आउने क्रम करिब करिब अन्तिम चरणमा पुग्दै गरेको बेला सत्ता साझेदार गठबन्धन दलका दुई शीर्ष नेताहरुबीच भेटवार्ता र छलफल भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निकट स्रोतले दिएको जानकारी अनुसार, शनिबार बिहान देउवालाई भेट्न अध्यक्ष दाहाल बालुवाटारमा पुगेका थिए।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीचको भेटवार्ताका क्रममा निर्वाचनको आउँदै गरेको परिणामको समिक्षाका अतिरिक्त यसबाट आउन सक्ने राजनीतिक परिस्थितिसँगै आगामी दिनमा वर्तमान गठबन्धनलाई कसरी अझ बलियो, सशक्त र एकताबद्ध बनाएर लैजान सकिन्छ भन्नेबारे छलफल भएको स्रोतले बतायो।
गठबन्धनको माध्यमबाट निर्वाचनमा जाँदा कतिपय क्षेत्रमा अपेक्षाकृत मत ट्रान्सफर हुन नसक्दा परिणाम सोचेजस्तो नआएपनि देशको संविधान र यसले तय गरेको शासन व्यवस्थाको रक्षासँगै राजनीतिक स्थिरता र संमृद्धिका लागि गम्भीर परामर्श गरी अघि बढ्नु पर्नेमा दुबै नेताले जोड दिएका थिए।
निर्वाचनको क्रममा गठबन्धनमा सहभागी अन्य दलका शीर्ष नेताहरु राजधानी बाहिर जिल्लामा रहेको कारण सबै दलका शीर्ष नेताहरु राजधानी आएपछि पाँच दलीय गठबन्धनमा सहभागी सबै दलका शीर्ष नेताहरुबीच थप छलफल र विचार विमर्श गरी अघि बढ्ने सहमति दुई नेताबीच भएको पनि बालुवाटार स्रोतले बतायो।
निर्वाचनअघि सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच अधिकांश निर्वाचन क्षेत्रमा आपसी तालमेल र तालमेल हुन नसकेका केही क्षेत्रमा मित्रवत प्रतिस्पर्धाका आधारमा चुनावमा जाने सहमति भएको थियो।
यसका बाबजूद गठबन्धनले अहिलेसम्म प्रतिनिधि सभामा रहेको प्रत्यक्ष र समानुपातिक तर्फगरी कुल २७५ को स्पष्ट बहुमत आउन हम्मे हम्मे परेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय