हिमाल दैनिक
नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व चयन प्रक्रियाबारे छलफल र निर्णयका लागि आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। प्रत्यक्षसँगै समानुपातिक तर्फका निर्वाचित सांसदहरुले समेत निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र पार्टी सदस्यहरुले पाएलगत्तै आजै अपरान्ह ३ बजेका लागि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। उक्त बैठकले आगामी नयाँ सरकार गठन प्रक्रिया सुरु हुन अगावै पार्टीको संसदीय दलको नेता चयनका लागि आजको बैठकले सांसद पदमा निर्वाचित नभएका एक केन्द्रीय सदस्यको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने छ। उक्त निर्वाचन समितिले सम्भवत् आजैबाट र नभए भोलिदेखि निर्वाचनको कार्यतालिका प्रकासित गरी निर्वाचनको माध्यमबाट दलको नेता चयन गर्ने छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारकै क्रममा जनताबाट आगामी सरकारको नेतृत्व लिने घोषणा गर्दै संसदीय दलको नेतामा दाबी गरेका महामन्त्री गगनकुमार थापाबाहेक नयाँ सांसदहरुबीच साथ र समर्थनको बर्चश्व कायम गराउन सफल ठानिएका सभापति देउवा दलको नेतामा उठ्दैछन्। देउवालाई जसरी पनि दलको नेताबाट विस्थापित गराउने सार्वजनिक अभिव्यक्ति दिँदै त्यो अभियानमा गगन थापालाई साथ दिने घोषणा गर्दै आएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले चालेको कुटिल चालपश्चात पार्टीको अल्पमत समूहका कतिपय नेताले थापा र शर्माको रणनीतिलाई निस्तेज पार्न पार्टी नेता शेखर कोइरालालाई उम्मेदवार बनाउँदैछ। दलका सदस्यहको संख्याका आधारमा सभापति देउवाको पकड बलियो भएको जान्दाजान्दै पनि सामाजिक संजाल र मिडियामार्फत थापाले आफूलाई अबको नेतृत्व आफूले गर्ने दाबी गरेपछि कोइराला समूहकै तर्फबाट उपसभापति बनेका धनराज गुरुङदेखि नेताहरु चन्द्रकान्त भण्डारीसम्मले पनि आफ्नो समूहको बचाउका लागि कोइरालालाई दलको नेता बनेर आफ्नो पकड कायमै राख्न सुझाएका थिए। फलस्वरुप नेतृत्वको बचाउ र समूहको एकताका लागि पनि कोइराला दलको नेतामा उठ्न र महामन्त्रीद्वयको चालवाजीलाई निश्तेज पार्न मैदानमा उत्रँदैछन्। यसले पार्टी र संसदभित्र कमजोर संख्यामा रहेको अल्पमत पक्षभित्र थप विभाजनको खाडल गहिरिन सक्ने सम्भावना पनि बढेको छ।
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update