हिमाल दैनिक
नेपाली कांग्रेसको संस्थापन इतर समूहले संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई अघि सार्ने भएको छ। संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्नु केहि समयअघि काठमाडौंमा बसेको सो समूहको भेलाले दलको नेतामा महामन्त्री थापालाई नै उम्मेदवार बनाउने सहमति गरेको कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिए। मुलुकको राम्रो भविष्य र आफ्नो समूहको बिचारधारालाई एकतावद्ध गर्नका लागि दलको नेताको उम्मेदवारमा सहमति समेत जुटाइसकेको भण्डारीले बताए। मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन अगावै महामन्त्री थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै मत मागेका थिए। निर्वाचनमा विजयी भएपछि पार्टी संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई चुनौती दिन अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ लिएर अघि बढेका थापालाई कोइरालासहित कतिपय अन्य नेताहरुले सहमति जनाएका थिएनन्। गत वर्षको पुसमा सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट सभापतिमा देउवालाई र अल्पमत पक्षको नेतामा आफूलाई जनमत प्राप्त भएको भन्दै कोइरालाले पनि दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका थिए। यसका बाबजूद उक्त समूहका नेताहरुबीच पटक पटक भएका वार्ता र छलफल पश्चात मंगलबार बिहान बसेको उक्त समूहले महामन्त्री थापालाई दलको नेतामा उम्मेदवार बनाउने र कोइरालालाई १५औं महाधिवेशनमा सभापतिमा थापाले सघाउने सहमति अनुसार निर्णय भएको एक नेताले बताए। पार्टी संसदीय दलको नेतामा निर्वाचन समितिले तय गरेको कार्यतालिका बमोजिम मंगलबार अपरान्ह २ बजेदेखि ३ बजेसम्म मनोनयन र बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन हुने छ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update