हिमाल दैनिक
ज्येष्ठ सदस्य राणाले आज राष्ट्रपतिबाट शपथ लिंदै
pashupati-shamsher-rana
सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयतको शपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन् । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको छ संविधानको प्रावधान अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउनु हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानअनुसार सङ्घीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update