नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यसहित झण्डै तीन दर्जन सांसदहरुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ सरकारको नेतृत्व नछाड्न सुझावपूर्ण दबाब दिएका छन्।
सत्ता गठबन्धनका प्रमुख दल विशेषगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच सरकारको नेतृत्व पहिले कसले लिने भन्नेबारे बहस र विवाद उत्कर्षमा पुग्दै गर्दा कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई शनिबार बालुवाटार पुगेर गठबन्धनलाई कायमै राख्न र सरकारको नेतृत्वलाई निरन्तरता दिन आग्रह गरेका थिए।
देउवासँगको भेटवार्तामा सहभागी कांग्रेस केन्द्रीय सदस्य एवं सांसद ईश्वरी न्यौपानेले कांग्रेसका केन्द्रीय सदस्य तथा सांसदहरुको समूहले सभापति देउवासँग वर्तमान सत्ता गठबन्धनलाई नै सकेसम्म निरन्तरता दिँदै नयाँ सरकारको नेतृत्व लिन सुझाव दिएको बताइन्।
‘हालै सम्पन्न निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै वर्तमान सत्ता वठबन्धनलाई सकेसम्म कायम र संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले पनि सभापति देउवाले नै आगामी सरकारको नेतृत्व गर्न प्रतिनिधि मण्डलमा सहभागी सदस्यहरुले आग्रह गर्नु भयो,’ देउवासँगको भेटवार्ता पश्चात न्यौपानेले भनिन्।
निर्वाचनपूर्व चुनावी तालमेल र गठबन्धन गरी अघि बढेको कांग्रेस नेतृत्वको लोकतान्त्रिक–वाम गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व लिने सवालमा संसदको तेस्रो ठूलो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि दाबी गरेपछि गठबन्धनभित्र अन्यौलता छाउन थालेको छ।
जसको कारण राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझसम्मका लागि संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको सरकारको नेतृत्वको दावी पेश गर्न गरेको आव्हानभित्र सत्ता गठबन्धनको तर्फबाट दाबी पेश हुने वा नहुने भन्नेबारे अन्यौलता कायमै रहेको छ।
यस्तो परिस्थितिमा सरकारको नेतृत्व दाबी नछाड्न दबाब दिने उद्देश्यले पुगेका कांग्रेसका सांसदहरुसँग सभापति एवं प्रधानमन्त्री देउवाले यसबारे गठबन्धनका शीर्ष नेताहरुसँग वार्ता र छलफल भइरहेको जानकारी दिँदै सकेसम्म सहमति कायम गरेरै आफू अघि बढ्न प्रतिबद्ध रहेको जवाफ दिएका थिए।
प्रतिनिधि मण्डलमा कांग्रेस केन्द्रीय सदस्य एनपी साउद, सिता गुरुङ, सुदूरपश्चिम प्रदेशका कांग्रेस सभापति बीरबहादुर बलायर, सांसदहरु पूर्णबहादुर तामाङ, योगेश गौचनका अतिरिक्त कांग्रेसका अधिकांश महिला सांसदहरुको उपस्थिति थियो।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय