हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी सरकारको नेतृत्व पहिले आफूले गर्न नपाउने स्थिति देखेपछि १८ महिनाअघि बनेको कांग्रेस, माओवादी नेतृत्वको गठबन्धनको औचित्य सकिएको बताएका छन्। संविधानको धारा ७६ को उपधारा २ बमोजिमको मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अपरान्ह ५ बजेसम्मका लागि दिएको समय घर्किन लाग्नुअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो दुई वर्ष आफैँ प्रधानमन्त्री हुने अडानबाट पछि नहटेपछि दाहालले गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएका थिए। बैठकमा सहभागी नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व तत्काल नपाउने भएपछि दाहालले गठबन्धनको औचित्य सकिएको भन्दै बाहिर निस्किएपछि गठबन्धन टुटेको प्रतिक्रिया दिए। बालुवाटारबाट निस्किएलगत्तै माओवादी अध्यक्ष दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि ओली निवास बालकोट पुगेका छन्। गठबन्धनमा सहभागी दलहरुबीच सहमति नहुने अवस्थामा यदी ओलीले दाहाललाई समर्थन जनाएभने आजै सरकारको नेतृत्व दाबी गर्दै राष्ट्रपति कार्यालयमा जानसक्ने छन्। ओलीले साथ नदिएको खण्डमा धारा ७६ को उपधारा २ बमोजिमको सरकार बन्न नसक्ने अवस्था आउने छ र त्यसपछि उपधारा ३ बमोजिम राष्ट्रपतिले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सभापति देउवालाई सरकारको प्रधानमन्त्री नियुक्त गर्न पर्ने बाध्यकारी व्यवस्था रहेको छ।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update