हिमाल दैनिक
माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन ओलीसहितका नेता सहमत, कांग्रेस पाखा लाग्दै
Fk0TfvSaEAEG6k2
नेपाली कांग्रेसँग डेढ वर्षअघि गरेको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै शरणमा परेपछि पुनः तेस्रो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ। कांग्रेससँगको वार्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरामा पहिले आफूले पाउनु पर्ने अडान राखेका दाहालको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि अन्तिम समयमा गठबन्धन टुटेको घोषणा गर्दै बालुवाटारबाट बालकोट पुगेका दाहाललाई प्रधानमन्त्री बनाउन ओली र अन्य साना दलका नेताहरु सहमत भएपछि कांग्रेस माओवादी गठबन्धन तोडेर एमाले माओवादी गठबन्धनबाट दाहाल प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। बालकोटमा दाहालको प्रवेशसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जनता समाजवादी पार्टीका अशोक राई, जनमत पार्टीका सिके राउतसहितका नेताबीच पहिलो चरणमा दाहालले सरकारको नेतृत्व गर्ने र राष्ट्रपति र सभामुखमा एमालेलाई छाड्ने सहमति भएलगत्तै नेताहरुले दाहालको पक्षमा बहुमत पुग्ने जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाउँने तयारी भएको छ। पाँच वर्षअघि सम्पन्न निर्वाचनमा वाम गठबन्धन गर्दै चुनावमा गएका एमाले र माओवादीबीच पार्टी एकीकरण भएपनि आलोपालो प्रधानमन्त्री बन्ने सवालमा ओली लचक नभएपछि दलभित्र उत्पन्न विवादलाई किनारा लगाउन ओलीले दुई पटक संसद विघटनको असफल प्रयास गरेका थिए। त्यसको विरोधमा उत्रिएका दाहालसँगै तत्कालिन एमाले नेता माधवकुमार नेपालले सर्र्वोच्च अदालतको साहारामा कांग्रेस सभापति देउवालाई १७ महिना अघि देशको प्रधानमन्त्री बनाएर स्थानीय चुनावदेखि संघ र प्रदेशको चुनावमा लोकतान्त्रिक वाम गठबन्धन गरेका थिए। गठबन्धन पश्चात कांग्रेस पहिलो ठूलो दल बनेपछि कांग्रेसले सरकारको नेतृृत्व पहिलो चरणमा दाबी गरेपनि कांग्रेसभित्रैका कतिपय नेताहरुले दाहाललाई दाबी नछाड्न भनि गरेको उक्साहटबाट हौसिएका माओवादी अध्यक्ष दाहाललाई एमाले अध्यक्ष ओलीले पनि ढाडस दिएका थिए। ओली र दाहालबीच एकआपसमा चर्को आरोपप्रत्यारोप भएर मनमुटावको स्थिति बनेपनि निर्वाचन परिणामपछिको स्थितिमा राज्यका सबै निकायमा पाखा लाग्नु भन्दा पुनः दाहालसँग सहमति गरेर अघि बढ्ने रणनीति अपनाएका ओलीले अन्ततः दाहाललाई प्रधानमन्त्री दिएर राष्ट्रपति, सभामुखदेखि प्रदेश सभामा सरकारको नेतृृत्व लिने र राज्यको मूलप्रवाहबाट आफ्नो पार्र्टीलाई बाहिर नपार्ने रणनीतिमा सफल भएका छन्।
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update