नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका सभापति देउवाले निर्र्वाचन पश्चात गठबन्धन सरकार गठनमा गरेको प्रयास विफल भई संसदमा विपक्षी दलको भूमिका खुम्चिनु परेपछि समग्र परिस्थितिबारे छलफल गर्र्न पार्टीको बैैठक बोलाउने निर्णय गरेका हुन्।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको सूचना अनुसार, पौष २२ गते शुक्रबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन समिक्षादेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।
तत्कालिन नेकपा डब्बलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनाअघि पटक पटक गरेको संसद विघटनको असफल प्रयासको विरुद्धमा उनैको पार्टीका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुको आग्रहमा नयाँ गठबन्धन बनाएर सरकारको नेतृत्व गर्न पुगेका देउवाले उक्त गठबन्धनलाई गत स्थानीय तह निर्वाचनदेखि संघ र प्रदेश सभा सदस्य निर्वाचनसम्म चुनावी तालमेल गरी अघि बढाएका थिए।
निर्वाचनमा अपेक्षाकृत सफलता नमिलेपनि गठबन्धनको निरन्तरता दिने सवालमा एकमत देखिएका देउवा र दाहालबीच पछिल्लो समय सरकारको नेतृत्वदेखि शक्तिको बाँडफाँटको विवादले निकास नपाएपछि दाहाल पुनः नेकपा एमाले अध्यक्ष ओलीको शरणमा पुग्दै अन्य साना दलको साथ लिएर नयाँ सरकार गठनको बाटो अंगालेका थिए।
दाहालको उक्त कदम सफल भएपछि सत्ताबाट देउवा बाहिरिएर प्रतिपक्षमा पुगेका छन्।
चुनावअघि र पछिका केही दिनसम्म लोकतान्त्रिक–वाम गठबन्धनलाई बाँकी ५ वर्षसम्मै निरन्तरता दिने घोषणा गर्दै आएका देउवा र दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्नेबाट सहमति नभएपछि त्यसबाट उत्पन्न विवादमा ओलीले कुटिलतापूर्वक दाहाललाई साथ दिँदै नयाँ प्रधानमन्त्री बनाउन र सत्ता गठबन्धन गरी अघि बढ्न सघाए।
फलस्वरुप संघदेखि प्रदेश तहसम्मै सरकारको नेतृत्व गर्ने आशा र भरोसा बोकेर बसेको कांग्रेस एकाएक सत्ताबाहिर पुगेपछि सभापति देउवाका कतिपय आलोचकहरुले पार्टीको केन्द्रीय कार्यसमिति बैठकदेखि विशेष महाधिवेशनको माग गर्नु पर्ने आवाज उठाइरहेका छन्।
यसका बाबजूद केन्द्रीय समितिमा अत्याधिक बहुमतका साथ रहेका देउवाले समग्र विषयमा छलफल गरी नयाँ रणनीति तय गर्न पार्टीको बैठक बोलाएका हुन्।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय