वागमती प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्रबहादुर बाँनियाको उम्मेदवारी परेको छ।
बुधबार अपरान्ह हुने दलको नेता चयन प्रक्रियाका लागि मनोनयन दर्ता गर्नेमा दुई पटक केन्द्रीय कार्यसमिति सदस्य तथा संघीय संसदमा समेत पटक पटक सांसद बनेका लामाले प्रदेश सभामा दलको नेताका लागि उम्मेदवारी दर्ता गरेपछि वागमती प्रदेश सभामा कांग्रेसको नेतृत्व चयन प्रक्रिया रोचक मोडमा पुगेका हो।
उनलाई चुनौती दिन प्रदेस सभापति बाँनियाले पनि उम्मेदवारी दर्ता गराएका छन्।
लामाको प्रस्तावक र समर्थकमा समेत केन्द्रीय तहका नेतादेखि जिल्ला सभापतिसम्मले समर्थन जनाएका छन्।
निर्वाचन समितिका अनुसार, लामाको प्रस्तावकमा चर्चित युवा नेता एवं केन्द्रीय सदस्य कुन्दनराज काफ्ले रहेका छन् भने समर्थकमा अर्की केन्द्रीय सदस्य उर्मिला नेपाल, काभ्रे जिल्ला पार्टी सभापति तीर्थ लामा, नुवाकोट पार्टी जिल्ला सभापति रमेश महत तथा पूर्व विद्यार्थी नेता रामकृष्ण चित्रकार रहेका छन्।
पटक पटक संविधान सभादेखि संघीय संसद सदस्य तथा पार्टी केन्द्रीय समिति सदस्यमा समेत निर्वाचित हुन सफल नेता लामाले संघीय संसदका लागि टिकट खोजेका थिए। तर, टिकट वितरणमा सन्तुलन कायम गर्न नुवाकोटमा अर्जुनरसिंह केसीलाई प्रतिनिधि सभाको टिकट दिएपछि लामालाई प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासनमा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन तयार भएका थिए।
उता यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएर दलको नेता बन्दै प्रदेशको मुख्यमन्त्री बन्न प्रयासरत बाँनियाको प्रस्तावक र समर्थकमा भने पदेश सभा सदस्यद्वय प्रभात तामाङ र छिरिङ दोर्जे लामा रहेका छन्।
केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमा रहेका लामा र बाँनिया नै प्रदेश सभामा एकआपसमा भिडन्तमा उत्रिएपछि अल्पमत पक्षले कसलाई साथ दिने र कसलाई नदिने भन्ने अन्यौलता छाएको छ।
वागमती प्रदेशको दलको नेतामा दाबी गरेका लामाले आफू पटक पटक केन्द्रीय सदस्य मात्र नभई यो प्रदेशको जनसंख्याको बाहुल्यताका आाधारमा पनि दलको नेतामा आफूलाई समर्थन गर्नु पर्ने माग गरिरहेका छन्।
उता, गत आम निर्वाचनमा आफ्नै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोप लागेका बाँनियाले प्रदेश सभापति बनेपछि स्थानीय तकको टिकट वितरणको प्रक्रियामा नेतृत्वलाई समेत अपमानपूर्ण व्यवहार गरेको र आफुखुशी टिकट वितरण गरेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको छ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय