हिमाल दैनिक
बालुवाटारबाट धुम्रबाराहीमा डेरा सरे देउवा
Deuba evacuate baluwatar
नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास खाली गरिदिएका छन्। विगत १८ महिना लामो लोकतान्त्रिक वाम गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने सवालमा विमति जनाउँदै शनिबार एकाएक गठबन्धन तोड्दै नेकपा एमाले लगायतका दलको साथ र समर्थनमा सरकारको नेतृत्व लिन पुगेपछि सत्ताबाट बाहिरिन पुगेका देउवाले बुधबार बिहान बालुवाटरबाट डेरा सरेका हुन्। बुढानिलकण्ठस्थित आफ्नो निवास मर्मत गर्ने क्रममा रहेपछि तत्काल बालुवाटारबाट निस्कनुअघि डेराको खोजीमा रहेका देउवाले दाहाल प्रधानमन्त्री बनेको तीन दिनपछि धुम्रबाराहीमा डेरा खोज्दै आजै मात्र सरेका हुन्। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक गरेको संसद विघटनको असफल प्रयासका विरुद्धमा सँगै उभिन पुगेका दाहालकै साथ र समर्थनमा देउवा २०७८ असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। पाँच दलीय सत्ता गठबन्धनको माध्यमबाट देउवाले गत वैशाखमा स्थानीय तह र मंसिर ४ गते सबै प्रदेश सभा र प्रतिनिधि सभाको सफलता पूर्वक निर्वाचन सम्पन्न गराएका थिए। नवनिर्वाचित संसदमा पहिलो ठूलो दलको रुपमा रहेको कांग्रेसको संसदीय दलको नेताको हैसियतले देउवाले दाहालसँग गठबन्धन सरकारको नेतृत्व आफूले गर्नुपर्ने माग गरेका थिए। तर, दाहालले पहिले आफू प्रधानमन्त्री बन्ने अडान नछाडेपछि कांग्रेस गठबन्धनबाट अलग्गिएर ओलीकै शरणमा पुगेका थिए। जहाँ ओलीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका ७ दलबीच गठबन्धनको सहमति बनेपछि दाहाल देशको नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन्। देउवाले बालुवाटार खाली गरिदिएपछि अब नवनियुक्त प्रधानमन्त्री दाहाल खुमलटारस्थित निजी निवासबाट सरकारी निवास बालुवाटारमा सर्नका लागि बाटो खुलेको छ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update