नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित भएका छन्।
बुधबार प्रदेशको राजधानी हेटौँडामा सम्पन्न दलको नेता चयन प्रक्रियामा लामाले आफ्ना निकटतम् प्रतिद्वन्द्धी इन्द्रबहादुर बाँनियालाई ५ मतको अन्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन्।
हालै सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फंका ३७ सदस्यीय संसदीय दलमा कांग्रेस नेताको पदका लागि आजै लामा र बाँनियाले उम्मेदवारी दर्ता गरेका थिए।
केन्द्रमा दुबै नेता सभापति शेरबहादुर देउवा पक्षका मानिएपनि प्रदेश सभाको दलको नेतामा एकअर्कालाई नछाड्ने अडानमा पुगेका लामा र बाँनियाबीच भएको चुनावी प्रतिस्पर्धामा लामाले २१ मत प्राप्त गरी विजयी भए भने बाँनियाको पक्षमा जम्मा १६ मत परेको थियो।
केन्द्रको प्रतिनिधि सभामा दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगनकुमार थापालाई उठाएर भारी मतअन्तरले पराजित भएको अल्पमत पक्षले बागमती प्रदेशमा भने कुनै आधिकारिक उम्मेदवार अघि सारेको थिएन।
दुबै उम्मेदवार देउवा पक्षका भएपछि संस्थापन इतर पक्षले आफूखुशी मन लागेको उम्मेदवारलाई मत दिएका थिए।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय