करिब ६ महिना अघि सुरु गरेको पार्टी निर्माण अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक रुपमा घोषणा गर्दै भनेका थिएः अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु र नेपाली उत्पादनलाई प्रवद्र्धन गर्छु।
गत असारका ३० गते झापा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा लामिछानेले परिवर्तनको सुरुवात आफैँबाट गर्नु पर्ने बताउँदै स्वदेशी उत्पादनको प्रवद्र्धनमा आफू र आफ्नो पार्टी लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा उनले भनेका थिए, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु।’
जम्माजम्मी ६ महिनाको प्रसायमा गत आम निर्वाचनमा अनपेक्षित सफलता हाँसिल गर्दै वर्तमान सत्ता गठबन्धनमा सहभागी भएर देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत बन्न सफल भएका उनै लामिछानेले ६ महिनाअघि गरेको प्रतिबद्धता सम्झिएनन् अथवा सम्झिन आवश्यक ठानेनन्।
पार्टी निर्माणको प्रक्रियामा देश दौडाहा गर्दादेखि गत निर्वाचनको परिणाम आउँदासम्म नेपाली पोसाकमा देखिएका लामिछानेले त्यसपछिका दिनमा भने बेग्लै रुपमा देखिन थाले। उनले मन्त्री पदको सपथ लिँदादेखि नै यो बाचा भुलेका थिए।
त्यसैले त, सरकारको उपप्रधानमन्त्री बनेलगत्तै उनै लामिछाने बिहानदेखि बेलुकासम्म स्वदेशी उत्पादन होइन, विदेशबाट आयातित पोसाकमा ठाँटिएर प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सत्ता साझेदार दलका नेताको निवासमा धाउँन व्यस्त छन्।
पछिल्लो पटक शनिबार मात्रै उनले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर भेटवार्ता गर्नेदेखि सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा स्वदेशी पोसाक नलगाई विदेशी पोसाकमा झुल्किए।
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय