नेकपा एकीकृत समाजवादी (एस)ले तत्काल सरकारमा जाने कुनै तयारी नभएको स्पष्ट पारेको छ।
सोमबारबाट काठमाडौंमा सुरु भएको नेकपा एसको पोलिट्व्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारिएको हो।
बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका बिषयमा छलफल भएको बताए।
सरकारमा सहभागी हुनका लागि कतैबाट पनि औपचारिक प्रस्ताव नआएको अवस्थामा सरकारमा सहभागी हुने प्रश्न नै नउठ्ने उनको स्पष्टोक्ति छ।
बैठकमा समसामयिक राजनीति, नयाँ सरकार, संगठन निर्माणबारे २० जना सदस्यहरुले धारणा राखेको र मंगलबार पनि बैठक बस्ने प्रवक्ता खतिवडाले जानकारी दिए।
खतिवडाले लामो समय सहकार्य गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको अवस्थामा नीतिगत निर्णय गर्नका लागि बैठक राखेको जिकिर गरे।
उनले पछिल्लो समय विकसित राजनीतिक अवस्थाको सूक्ष्म विश्लेषण गरी पार्टीले परिपक्व ढंगले निर्णय गर्ने दाबी समेत गरे।
करिब १८ महिना अघि तत्कालिन नेकपा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद झेल्न कठिनाई भएपछि पटक पटक संसद विघटनको असफल प्रयास गरेपछि उक्त पार्टीबाट पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालसहितका सदस्य र पछि माधवकुमार नेपालसहितका नेताहरु बाहिरिएर नेकपा एस गठन गरेका थिए।
अदालतको आदेशले विभाजित नेकपा नेकपाबाट बनेको नेकपा एमाले अध्यक्ष ओलीसँग मतभेद राख्दै विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन प्रक्रियामा सहभागी माओवादी र एसले गत स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनसम्म चुनावी गठबन्धन गदैृ चुनावमा होमिएका थिए।
चुनावमा अपेक्षाकृत परिणाम नआएपनि कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने कसरतमा रहेका तीन ठूला दलमध्ये नयाँ सरकारको नेतृत्व लिनेबारे विवाद चर्किएपछि माओवादी अध्यक्ष दाहालले एकाएक एमालेसँग सम्झौता गरी सरकारको नेतृत्व लिन पुगेका थिए।
ओलीविरुद्धको राजनीतिक लडाईमा एकाताबद्ध भएर लागेका दाहाल र नेपालमध्ये पछिल्लो समयमा दाहालले नेपालसँग समेत कुनै परामर्श नगरी एमालेकै शरणमा सत्ताको चाबी लिन पुगेपछि नेपाल र उनको पार्टी वितरा परेको छ।
यसका बाबजूद पनि कतिपय एमाले नेताहरुले नेकपा एसलाई पनि सत्ता गठबन्धनमा ल्याउनेदेखि एमालेमा विलय गराउने प्रयास जारी राखेका छन्। यसैको सेरोफेरोमा नेकपा एसले सुरुमा सचिवालय बैठक राखेको र त्यसपछि थप छलफल र निर्णयका लागि पोलिटव्यूरो बैठक आजबाट बोलाएको थियो।
आजको पोलिटब्यूरो बैठकको सुरुमै अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहेको धारणा राखेका थिए।
एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो तर राष्ट्रिय पार्टी भने बन्न सकेको थिएन ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय