नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस नेता रमेश लेखकलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरेका छन्।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसदमा पहिलो ठूलो दल बनेलगत्तै पुस ६ गते संसदीय दलको नेतामा निर्वाचित देउवाले मंगलबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद तथा कांग्रेस नेता लेखकलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन्।
देउवाका निजी सचिव केशवराज जोशीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सभापति एवं दलका नेता देउवाले पार्टीको संसदीय दलको विधानको धारा १३ बमोजिम लेखकलाई उक्त जिम्मेवारीमा नियुक्त गरेका हुन्।
कांग्रेस नेता लेखक विगत दुई दशकदेखि पार्टीभित्र संविधान, कानून र नियमको परिधिमा रहेर विशेष भूमिका निर्वाह गर्दै आएका नेता हुन्। जसले विस्तृत शान्ति सम्झौतामा सरकारी वार्ताकारको भूमिकादेखि सरकारका विभिन्न निकायमा नियुक्त भएर उल्लेखनिय भूमिका निर्वाह गर्दैआएका नेताको कोटिमा पर्दछन्।
यसअघिको सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिनुपूर्व लेखकलाई कतिपय नेताहरुले आगामी संसदको सभामुखका लागि सम्भावित बलियो उम्मेदवारका रुपमा हेर्दै आएका पनि थिए।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय