हिमाल दैनिक
प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन गर्न सकिँदैनः अध्यक्ष नेपाल
HB-KTM-20-RSS3
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि सरकारको विषयमा आफ्नो पार्टीले आवश्यक निर्णय लिने बताएका छन्। पार्टी निकट युवा संघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन अझै केहि दिन बाँकी रहेकाले त्यसअघि नै आफ्नो पार्टीले आवश्यक निर्णय गर्ने बताएका हुन्। अहिलेको राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रम नै स्पष्ट नरहेका उल्लेख गर्दै प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न नसकिने जिकिर उनले गरे। विगत डेढ वर्षदेखि लोकतान्त्रिक वाम गठबन्धनको माध्यमबाट मिलिजुली सरकार बनाउनुका साथै गत स्थानीय निर्वाचनदेखि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समेत चुनावी तालमेल गरी अघि बढेका दाहाल र नेपालबीच निर्वाचन पश्चात सरकारको नेतृत्व लिने विषयमा गठबन्धनमा सहभागी दल नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा दाहालले एमालेको साथ र समर्थनमा सरकार बनाएपछि केही असहजताको वातावरण उत्पन्न भएको थियो। यसका बाबजूद पनि सरकारको पक्षमा मत दिन आग्रहका निम्ति प्रधानमन्त्री दाहालले बुधबार मात्रै नेपाललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर भेटवार्ता गरेका थिए। अध्यक्ष नेपालले कार्यक्रममा बोल्दै पार्टीभित्र सबैको राय सुनेर बिचार लिएपछि वर्तमान सरकारका बिषयमा संस्थागत निर्णय लिने पनि बताए। गत निर्वाचनमा ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टीको मान्यतासँगै समानुपातिक तर्फ सिट हाँसिल गर्न आवश्यक थ्रेसहोल्ड कटाउन असमर्थ बनेको आफ्नो पार्टीको अवस्थाप्रति लक्षित गर्दै पार्टीले थ्रेसहोल्ड नकटाएर कुनै फरक नपरेको दाबी समेत गरे। पार्टी पङ्तीले केहि मेहनत गरेको भए थ्रेसहोल्ड कटाउन सक्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ थियो। गठबन्धनबाट छुटेर एमाले लगायतका दलसँग दाहालले नयाँ गठबन्धन बनाएपछि उत्पन्न परिस्थितिमा जनता समाजवादी पार्टीसँग एकीकरणको प्रयासमा रहेको नेकपा एसका अध्यक्ष नेपालले अब बिचार मिल्नेहरुसंग एकता गर्ने र मोर्चा बनाउने समेत जानकारी दिए। साथै उनले अहिलेको अवस्थामा पार्टीलाई थप मजबुद बनाउदै अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update